मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ । आयोजनाले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि चिनियाँ निर्माण कम्पनी अनहुई काइयुआन आइवे एन्ड ब्रिजले जामुने–पोखरा खण्डमा पनि कामलाई तीव्रता दिएको हो । मङ्सिर महिनासम्म १२ प्रतिशत भौतिक प्रगति भएकोमा अहिले १४ प्रतिशत प्रगति भएको निर्माण कम्पनीको दाबी छ । २०७८ साल भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ साल भदौ १२ गतेसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४२५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्साभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्याङ्कर आठ वटा परिचालन गरेको छ ।