भाट–भटेनी सुपर मार्केटको सञ्चालन नाफा ६ करोड ३५ लाख बढ्यो

जेठ १, काठमाडौं । भाट–भटेनी सुपर मार्केटले सन् २०२१ मा करीब २० अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२१ १९ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । गत वर्षको तुलनामा सञ्चालन नाफा ६ करोड ३५ लाख रुपैयाँले वृद्धि भएको हो ।  कम्पनीले सन् २०१७ यता लगातार सञ्चालन नाफा बढाउँदै आएको छ । सन् २०१७ मा ११ अर्ब ७७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले सन् २०१८ मा १५ अर्ब २७ करोड, २०१९ मा १७ अर्ब ९९ करोड र २०२० मा १९ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  पछिल्लो वर्ष २०२१ मा कम्पनीको नाफामा कोरोना महामारीले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । अघिल्ला वर्षहरूमा यो कम्पनीको नफा अर्बभन्दा बढी भएको देखिन्छ । तर, पछिल्लो वर्ष २०२० र २०२१ को बीचमा कम्पनीले नाफाको वृद्धि अर्ब पु¥याउन नसकेको स्पष्ट देखिन्छ ।  भाट–भटेनीले काठमाडौं उपत्यका र बाहिर गरी १९ ओटा आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार काठमाडौंमा टंगाल, महाराजगञ्ज, कोटेश्वर, बौद्ध, अनामनगर, कलंकी र त्रिपुरेश्वर गरी ७ स्थानमा आउटलेट रहेका छन् । त्यसैगरी ललितपुरका पाटनर र सातदोबाटो, भक्तपुरको राधेराधेमा आफ्नो आउटलेट रहेका छन् । त्यस्तै भ्याल्ली बाहिरको जिल्लाहरू चितवन, बुटवल, धरान, विरातनगर, पोखरा, भैरहवा, नेपालगञ्ज र इटहरी गरी कुल १९ स्थानमा आफ्ना आउटलेटबाट विभिन्न किसिममा बस्तु विक्री गर्दै आएको छ ।  यो डिपार्टमेन्ट स्टोरमा ४५ सयभन्दा बढी कर्मचारी रहेका छन् । जसमा ९५ प्रतिशत महिला कर्मचारी रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले सन् २०२२ थप ३ ओटा आउटलेट सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो कम्पनीमा शेयर स्वामित्व मिन बहादुर गुरुङको ६० प्रतिशत र उनकी श्रीमति सावित्री घले गुरुङको ४० प्रतिशत रहेको छ । भाट–भटेनीले १२ अर्ब ८७ करोड रुपैयाँ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ । इक्रा नेपालले भाट–भटेनीलाई ५ अर्ब २५ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि इक्रा एनपी एल डबल बी रेटिङ प्रदान गरेको छ । त्यस्तै ३ अर्ब ४८ करोड अल्पकालीन कर्जाका लागि इक्रा एनपी ए४ रेटिङ प्रदान गरेको छ ।