दियो बेचेरै पक्की घर बनाउने दाजुभाइको सपना

तिहारको अवसरमा परम्परागत रुपमा बालिने दियो बत्ती अचेल लोप हुँदै गएको छ । दियोको स्थान विद्युत्बाट संचालन हुने झिलिमिली बत्तीले लिएपछि दियो बत्ती नै लोप हुने अवस्थामा पुगेको छ । तर रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ७ छत्रपुराका सन्तोष कुमार प्रजापती र नगेन्द्र कुमार प्रजापतीले बर्षौदेखि अधुरो रहेको घर निर्माणको कामलाई दियो बेचेरै पुरा गर्ने सपना बुनेका छन् । दाजु सन्तोषले विद्यालयको पढाईसँगै खेतीपातीको काममा बुवाआमालाई सघाउँंदै फुर्सदको समयमा माटाका दियो बनाउने गर्नुहुन्छ । उहाँलाई भाई नगेन्द्र कुमार प्रजापतीले सघाइरहनुभएको छ । कक्षा १२ मा पढ्दै गर्नुभएका दाजु सन्तोषले गतवर्षको दिपावलीमा माटाको पाला बेचेर गरेको आम्दानीले गाउँमै ईट्टा लगाएर पक्की घर निर्माण सुरु गर्नुभएको थियो । यी दाजुभाईले अघिल्लो गतवर्षको दिपावलीमा तीन लाख रुपियाँका माटोका दियो विक्री गरेका थिए ।