बागमती प्रदेशका कृषकले दूधको अनुदान असारभित्रै पाउने

जेठ २२, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।  पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रू. १६ करोड र पशु स्रोत केन्द्रका लागि रू. एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । आइतवार यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, ‘असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।’ निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।   चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए ।  दूध अनुदानमा गत वर्ष चितवनका किसानले रू. ८ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् ।  बगालेले भने, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रू. दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रू. २२ करोड आवश्यक पर्ने उनी बताउँछन् ।  गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउँछन् ।  सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताउँछन् ।  कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जानकारी दिएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरणविपरीत गोपनियता भंग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।   चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र केरा व्यवसायी संघले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए । रासस