बुटवल पावरको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । बुटवल पावर कम्पनीको २९ औं वार्षिक साधारणसभा केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले आव ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितका वित्तिय विवरण, आव ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलाई पनि पारित गरेको छ । साधारणसभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयर वितरणका लागि चुक्ता पुँजी वृद्धि गर्नेलगायत प्रस्ताव पारित गरेको छ । सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम स्वीकृति लिएर नगद लाभांश यथाशक्य छिटो शेयरधनीलाई वितरण गरिने कम्पनीले बताएको छ । बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी रु. ३,२४,६३,२६,८०० कायम हुनेछ । हाल कम्पनीले ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत्गृह सञ्चालन छन् । साथै, सहायक तथा सम्बद्ध कम्पनीमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत्गृह र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत्गृह सञ्चालन हुँदै आएको छ । निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई प्रसारण लाइन तथा सबस्टेसन अभावले विद्युत् उत्पादन तथा वितरण ढिलाइ हुन गएको छ ।

सम्बन्धित सामग्री

बुटवल पावरको लाभांश घोषणा, पुस २६ मा साधारणसभा

बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले मङ्सिर २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले आगामी पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट भने १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।