डिशहोमले ल्यायो ‘क्याम्पस वाईफाई सोलुसन्स’

काठमाडौं (अस) । डिशहोम फाइबरनेटले नयाँ प्रविधिमा आधारित इन्टरनेट ‘क्याम्पस वाईफाई सोलुसन्स’ सार्वजनिक गरेको छ । धेरैजना मानिस भएको ठाउँका लागि उपयोगी हुने यो प्रविधि कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा शनिवार सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबरनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर सार्वजनिक गरे । उनले सो किसिमको प्रविधि भित्र्याउने कम्पनीहरूमा डिशहोम पहिलो बनेको दाबी गरे । आचार्यले डेढ वर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका ग्राहक संख्या १ लाख २० हजार पुगेको जानकारी दिए । शनिवार सार्वजनिक गरिएको नयाँ प्रविधि भविष्यलाई दृष्टिगत गरेर ल्याइएको उनले बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन पनि  भविष्य हेरेर नै शुरूआत गरेको र सो प्रविधि अहिले लोकप्रिय बनेको उदाहरण आचार्यले सुनाए । ‘क्याम्पस  वाईफाई सोलुसन्स पनि उपभोक्ताको आवश्यकता र रुचिमा पर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने । डिशहोमले ल्याएको क्याम्पस वाईफाई विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुराँ लगायतका लागि उपयोगी हुने दाबी गरिएको छ । त्यस्तै शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यावसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि पनि उपयोगी हुने कम्पनीको भनाइ छ । उच्च क्षमताको सो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सक्ने आचार्यले बताए । कम्पनीका अनुसार क्याम्पस वाईफाई सोलुसन्समा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) पनि समावेश हुन्छ । एआईले ब्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेबसाइट, भिडियो अवरुद्ध नहुने कम्पनीको दाबी छ । त्यस्तै सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन नकाटिने बताइएको छ । क्याम्पस वाईफाई सोलुसन्सको मुख्य विशेषता धेरैजनाले एकैपटक स्तरीय वाईफाई चलाउन सक्नु रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

डिशहोमले ल्यायो नयाँ प्रविधि क्याम्पस वाईफाई सोलुसन्स

डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकमा यो प्रविधिको कम्पनीले लन्च गरेको हो ।कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरेका हुन् ।उनले यस किसिमको प्रविधि […]