जलपक्षी गणना सम्बन्धी गोष्ठी रुपन्देहीमा

जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता छ ।           यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।           गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।