हस्तकला निर्यातका लागि चेम्बर र हस्तकला महासंघबीच सम्झौता

काठमाडौं । हस्तकलाका वस्तु निर्यातका लागि नेपाल चेम्बर अफ कमर्श र नेपाल हस्तकला महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ । हस्तकलाका वस्तुको निर्यात प्रवर्द्धन गरी व्यापार न्यूनीकरणका लागि संयुक्त पहल गर्ने सम्बन्धमा चेम्बर र महासंघबीच सोमवार सम्झौता भएको हो । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तरराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेका हुन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण तथा कच्चा पदार्थमा सहकार्य गर्न र भन्सारमा देखिएका जटिलता हटाउन हस्तकला महासंघसँग हातेमालो गरेर अघि बढ्ने बताए । महासंघका पदाधिकारीलाई स्वागत गर्न काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपालका हस्तकलाका वस्तु अन्तरराष्ट्रिय प्रदर्शनी तथा मेलामा सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताए । ‘चरम रूपमा बढेको व्यापार घाटा न्यूनीकरणका लागि अहिले देखिएको बलियो विकल्प हस्तकलाका सामानको निर्यात प्रवर्द्धन नै हो,’ उनले भने । हस्तकला उद्योगले व्यापक मात्रामा रोजगारी सृजना गर्नुका साथै शीप, कला–कौशलका माध्यमबाट संस्कृतिको संरक्षण र संवर्द्धनमा ठूलो सहयोग पुर्‍याउँदै आएको उनले बताए । चेम्बरका अनुसार अमेरिका, अधिकांश यूरोपेली मुलुक, जापान, चीन, भारत, कोरिया लगायत एशियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामान निर्यात भइरहेका छन् । अध्यक्ष मल्लले राज्यबाट सहुलियत पाएमा आर्थिक रूपमा धेरै लाभ लिन सकिने बताए । हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण गर्न, व्यवसायीलाई राहत उपलब्ध गराउन र अन्य नीतिगत सुधारका लागि आफूले पहल गर्ने उनको भनाइ छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफूहरूले उत्पादन गरेका हस्तकलाका वस्तु निर्यातका लागि भन्सार लगायतमा विभिन्न नीतिगत समस्या रहेको बताए । निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरे पनि वास्तविक व्यवसायीले पाउन नसकेको उनको गुनासो थियो । निर्यात सहजीकरण गरिदिन शाक्यले नेपाल चेम्बर अफ कमर्शसँग आग्रह गरे । जवाफमा अध्यक्ष मल्लले हस्तकलाका वस्तु निर्यात प्रवर्द्धनका लागि आफूले सक्दो पहल गर्ने बताए । आगामी बजेटअघि नै नीतिगत सुधारका लागि सरकारसँग पहल गर्ने चेम्बर र महासंघबीच समझदारी समेत भएको छ ।

सम्बन्धित सामग्री

चेम्बर र महासंघले हस्तकला निर्यात र प्रवद्र्धनमा सहकार्य गर्ने

हस्तकलाका वस्तुहरूको निर्यात प्रवद्र्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ ।व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रवद्र्धनमा सहकार्य गर्न लागेका हुन् ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन […]