डोलाडोलीमा ‘दुल्हेराजा दुल्हीरानी’

चिटिक्क सिँगारिएको डोला थियो। त्यसभित्र गलाभरि पैसाको माला लगाउनुभएका ‘दुल्हेराजा’ । डोलाको पछिपछि परम्परागत वेशभूषामा सजिएका महिला, युवकयुवतीसहित बालबालिका पनि बाजागाजाको तालमा नाचिरहेका थिए। सुदूरपश्चिम प्रदेशको तराईवासी, आदिवासी, जनजाति र रानाथारू समुदायको विवाहमा देखिएको दृश्य हो, यो। विवाहमा बेहुला (दुलहा)लाई डोला र बेहुली (दुलही)लाई डोलीमा बोक्ने रानाथारू समुदायको पुरानो चलन हो। डङ्गौरा, देउखरिया थारूले डोलाडोलीमा बेहुलाबेहुली बोक्ने चलनलाई मास्दै गएका बेला रानाथारू समुदायले भने आफ्नो पुरानो परम्परालाई जोगाएर राखेको छ।