प्रचण्डलाई आफ्नै पार्टीका नेताको प्रश्नः दलाल पुँजीवादको बाटोमा हिँड्ने, समाजवादको व्यानर झुण्ड्याउने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी दलाल पुँजीवादको कब्जामा परेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टीले समाजवादको ब्यानर झुण्ड्याएपनि पार्टी दलाल पुँजीवादको बाटोमो हिँडेको बताएका हुन् । केन्द्रीय सदस्य हेमराज भण्डारीले दलाल पुँजीवादको बाटोमा हिँड्ने अनि समाजवादको व्यानर झुण्ड्याउने काम गरेर नहुने बताउनुभयो । ‘विदेशी शक्तिकेन्द्रहरुले माइक्रो म्यानेज्ड गर्ने, यहाँको राजनीति मिलाइदिने, नेता बनाइदिने यो रहँदासम्म समाजवाद आउँदैन’ उहाँले भन्नुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या कहाँनेर हो ? पार्टीको विचार र समाजवाद कस्तो हुनुपर्ने हो ? मतदाता र कम्युनिष्ट पार्टीको सदस्यबीचको अन्तर के हो ? त्यसबारे प्रष्ट हुन पनि नेतृत्वलाई सुझाव दिनुभयो । ‘हामी कम्युनिष्ट पार्टीको अहिलेको परिस्थितिमा समस्या कहाँनेर छ ? समाजवाद भाषामा हुने कि योजना र कार्यक्रमसहित जाने ? कसरी क्रान्ति गर्नुहुन्छ ? क्रान्ति गर्ने हो भने, भोटर र क्रान्तिकारीबीच अन्तर छुटिनुप-यो नी ।’ बैठकमा भण्डारीले भननुभयो । पार्टीलाई कम्युनिष्ट पार्टीको ब्राण्ड बनाएर लैजान पनि नेताहरुले सुझाव दिएका छन् । माओवादी ब्राण्डमा जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन सकिएको भन्दै बैठकमा बोल्ने केही नेताहरुले अब कम्युनिष्ट पार्टी ब्राण्ड बनाएर समाजवादसम्मको यात्रा तय गर्न सुझाव दिएका हुन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणबारे छलफल गर्नुपर्ने भन्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस र जसपासँग छलफल गर्न जाने जानकारी दिनुभएको थियो । सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरवलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने निर्णय भएको पनि केन्द्रीय सदस्य युवराज चौलागाईंले बताउनुभयो ।