आईटीमा महिलालाई अवसर दिने एनसेलको 'ह्याकाथन' : सांकेतिक भाषा बुझाउने आईडियाले पायो डेढ लाख

काठमाडौं। एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेशनले आयोजना गरेको ३ दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरूले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्समा काम गरेका थिए । ह्याकाथनको अन्तिम दिन आइतवार सम्बन्धित समूहहरूको पिचिङपश्चात विजयी समूहको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्स पहिलो भएको छ । उसले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएकाे छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्रलक्षित सोलुसन बनाउँदै टिम सहयात्री दोस्रो भएकाे छ । उसले नगद पुरस्कार १ लाख रुपैयाँ पाएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अलर्ट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार पाएकाे छ ।  एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरूलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरूमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन–बाइनरी छात्राहरूलाई अवसरका साथै उनीहरूलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ,' उनले भने । माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयमा टक कार्यक्रम र कार्यशाला गरिएको थियो । सहभागी छात्राहरूलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने शीप प्रदान गरिएको थियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमले तेस्रो दिन (आइतवार) निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । ह्याकाथनमा सहभागीलाई विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिएका थिए । शिक्वल फाउन्डेसनका सह–संस्थापकहरू आस्था शर्मा र मेलिशा घिमिरेले सहभागीप्रति कृतज्ञता प्रकट गरे । कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्नो नयाँ सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटफर्म दिएको दाबी गरिएको छ ।