१ वर्षमा थपियो ४४ लाख ८० हजार निक्षेप खाता

काठमाडौं । कोभिड–१९ को १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपक खाताको संख्या बढेको छ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा ४४ लाख ८० हजार निक्षेप खाता थपिएर गत चैत्रसम्ममा कुल ३ करोड ६३ ला ६६ हजार खाता संख्या पुगेको छ । २०७६ चैत्रमा कुल निक्षेप खाता संख्या ३ करोड १८ लाख ८५ हजार रहेको थियो । कोभिडको १ वर्षमा निक्षेप खाता वृद्धिको संख्या यसअघिको वर्षको तुलनामा भने न्यून संख्यामा घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विसं २०७५ देखि २०७६ चैत्रसम्ममा ४९ लाख ७५ हजार निक्षेप खाता संख्या थपिएको थियो । कोभिड महामारीकै बेलामा पनि खाता संख्या थपिनु सकारात्मक भएको बैंकरहरूको भनाइ छ । अनलाइनबाट खाता खोल्ने सुविधा दिएकाले खाता संख्या बढेकोे बैंकरहरू बताउँछन् । अनलाइन सुविधाले ग्राहकहरूलाई खाता खोल्न बैंकमै भौतिक उपस्थिति हुनुपर्र्नेे बाध्यतालाई कम गरेको छ । अनलाइनबाट खोलिएको खातामा रकम जम्मा गर्न पाए पनि झिक्न भने एकपटक बैंकमै गएर तीनपुस्ते खुल्ने गरी ग्राहक पहिचान फारम (केवाईसी) अनिवार्य रूपमा भर्नुपर्छ । नेपाल राष्ट्र बैंकले केवाईसी पनि अनलाइनमार्पmत गर्न सकिने गरी व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । कोभिडको १ वर्षमा २७ ओटा बैंकहरूको निक्षेप खाता वृद्धि संख्या अधिक देखिएको छ भने विकास बैंकहरूको खाता वृद्धिमा संकुचन देखिएको छ । वाणिज्य बैंकहरूको मात्रै ४९ लाख निक्षेप खाता थपिएर कुल ३ करोड १५ लाख निषेध खाता पुगेको छ । विकास बैंकहरूको भने ५ लाख ७९ हजार खाता घटेर कुल ४० लाख ८८ हजार निक्षेप खाता रहेको छ । यो १ वर्षमा पाँचओटा विकास बैंक मर्जर तथा प्राप्ति प्रक्रियाबाट वाणिज्य बैंकमा गाभिएका कारण समग्रमा विकास बैंकहरूको निक्षेप खाता संख्यामा संकुचन देखिएको डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालले बताएको छ । २०७६ चैतमा २३ ओटा विकास बैंक भएकामा २०७७ चैतसम्ममा घटेर १८ ओटामा सीमित भएको छ । वित्त कम्पनीहरू २०७६ चैतमा २२ ओटा भएकोमा गत चैतमा २० ओटामा सीमित छन् । वित्त कम्पनीहरूले गत १ वर्षमा ६३ हजार ५२ ओटा निक्षेप खाता थपेर कुल ७ लाख १२ हजार निक्षेप खाता संख्या पुर्‍याएका छन् । गत आवको चैतमा ७७ हजार थपेर कुल ६ लाख ४९ हजार निक्षेप खाता संख्या पुगेको थियो । अनलाइनबाट खाता खोल्न सुरक्षित तथा भरपर्दो भएको बैंकरहरूको दाबी छ । ग्राहकले खाता खोलेपछि पासवर्डलगायत महत्त्वपूर्ण सूचना सुरक्षित राखे अनलाइैन खाताको कारोबार सुरक्षित हुने सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बताउँछन् । ‘अनलाइन खाता खोल्ने सेवा अत्यन्त सहज रहेकाले बन्दाबन्दी र अबका दिनमा पनि घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यालयमा बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन्,’ उनले भने । अनलाइनमार्फत खाता खोल्ने शुरुआत नबिल बैंकले ८ वर्षअघि पहिलोपटक गरेको थियो । त्यति बेला यो खासै प्रभावकारी देखिएको थिएन । हाल सबै बैंक तथा वित्तीय संस्थाहरूले अनलाइनमार्फत खोल्ने खातालाई प्राथमिकता दिएका छन् ।