स्याउ तस्करीमा प्रहरी मिलेमतो : १ हजार ३५० कार्टुन स्याउका विषयमा अनुसन्धान शुरू

विराटनगर । तीनओटा नेपाली ट्रकमा लोड भएको १ हजार ३५० कार्टुन चाइनिज स्याउ भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएपछि अहिले नेपाल र भारत दुवैतिरका प्रहरी निलम्बित भएका छन् । भारतमा प्रतिबन्ध लगाइएको चिनियाँ स्याउ जफत भएपछि नेपाल र भारत दुवैतिर प्रहरी सेटिङमा स्याउको तस्करी हुने गरेको रहस्य खुलेको छ । ५ दिनअघि भारतको वीरपुरमा तीन ट्रक स्याउसहित नियन्त्रणमा लिइएपछि नेपालका सीमाक्षेत्रका चार प्रहरी र भारतीय सीमाका प्रहरीहरू निलम्बित गरिएका हुन् ।  चोरीको बाटो भारतको वीरपुरको इँटाभट्टाभित्र राखिएका तीन नेपाली ट्रक अहिले भारतीय एसएसबीको नियन्त्रणमा छन् । मिलेमतोमा चाइनिज स्याउ भारत पठाएको अभियोगमा सीमाक्षेत्रका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयका समेत गरी नेपाल प्रहरीका ३४ जनालाई कार्यस्थलबाट जिल्ला प्रहरी कार्यालय सुनसरी तानिएको छ । त्यसैगरी सशस्त्र प्रहरीका १५ जना सुरक्षाकर्मीलाई कार्यस्थलबाट फिर्ता बोलाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको लौकही नाकाबाट तीनओटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै समिति बनाएर छानविन शुरू भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान शुरू गरेको हो ।  छानविनका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी डीएसपी लक्ष्मी भण्डारी, इन्स्पेक्टर मोहन रायमाझी र अन्य तीन जना जुनियर प्रहरी रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराहा वाहिनी मुख्यालय सुनसरीका एसएसपी प्रकाश थापा र डीएसपी नवीन बोगटीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाइएको डीआईजी वंशीराज दाहालले जानकारी दिए । ‘कसको संलग्नमा कुन नाकादेखि कसरी ट्रकमा स्याउ भारत पुग्यो गठित छानविन टोलीले छानविन गर्ने काम शुरू भएको छ,’ डीआईजी दाहालले भने, ‘छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा हामी थप प्रक्रिया अगाडि बढाउनेछौं ।’