नागरिक लगानी कोषलाई नवनिर्मित भवन हस्तान्तरण

असोज १६, काठमाडौ । शहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषका लागि नवनिर्मित भवन हस्तान्तरण गरेको छ । शुक्रवार उक्त नवनिर्मित भवन कोषलाई हस्तान्तरण गरिएको हो । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तरराष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको छ रोपनी जमीनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले शिलन्यास गरेका थिए ।  लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभाग बीच भएको सम्झौता अनुसार कोषको करीव ९० करोड रुपैयाँको लागतमा शहरी विकास तथा भवन निर्माण बिभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।  भवन हस्तान्तरण गर्न आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमणकालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यबाद दिए । यसैगरी विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।  उक्त अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, बिभागिय प्रमुखद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल एवं बिभागका तर्फबाट उप–महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, मचाकाजी श्रेष्ठ एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।