समीर सिंह ।।
सेतै हिमालले घेरिएको रमणीय घलेगाउँ एकचोटी पुग्ने इच्छा थियो । ग्रामीण पर्यटनबाट आर्थिक उन्नति गर्न सक्ने नेपालका केही सीमित गाउँमध्ये घलेगाउँ पनि एक हो । घलेगाउँको सुन्दरता, ग्रामीण पर्यटन, घलेजातिको कला, संस्कृति तथा इतिहास आदिको बारेमा थुप्रै उत्सुकता थिए । ती उत्सुकता मेटाउन पनि एकचोटी घलेगाउँ पुग्नैपर्छ भन्ने इच्छा तथा चाहना थियो । अन्ततः त्यो इच्छा पूरा भयो । अक्सफोर्ड स्कुलका कक्षा १२ का समाजशास्त्र समूहका विद्यार्थीलाई लिएर घलेगाउँ पुगेरै छाडियो ।
मेरो पेशा भनेको विद्यार्थीलाई पढाउनु पनि हो । कक्षा १२ मा समाजशास्त्रको पढाइ अन्तिम अन्तिम भइरहेको थियो । प्रयोगात्मक पाठ्यभार पूरा गर्नका लागि छलफल भइरहेको थियो । त्यो पाठ्यभार पूरा गर्नका लागि कुनै विशिष्ट ठाउँको सामाजिक अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ । समाजशास्त्रलाई अनुसन्धानसित कसरी जोड्ने ? सामाजिक जटिलताको कसरी चिरफार गर्ने तथा सामाजिक विश्लेषणका आधारमा नयाँ सोचको कसरी निर्माण गर्नेलगायतका प्रश्न हल गर्न पनि प्रयोगात्मक पाठ्यभारको क्रमबाट अगाडि बढ्नैपर्ने हुन्छ । त्यही उद्देश्य पूरा गर्न घलेगाउँको अध्ययन भ्रमणको योजना बनाइयो र हामी त्यसको तयारीमा लाग्यौँ ।
समाजशास्त्र विषयमा पढेका सैद्धान्तिक कुराले मात्र पर्याप्त ज्ञान प्राप्त हुन सक्दैन । समाजमा राम्रा कुरा के हुन् ? नराम्रा कुरा के के हुन् ? समाजभित्रका विकृति र विसङ्गति के के हुन् ? यी विसङ्गति क्रमशः हटाउँदै कसरी समाज परिवर्तनको दिशातर्फ अगाडि बढ्न सकिन्छ ? यस्ता थुप्रै व्यावहारिक प्रश्नप्रति पनि विद्यार्थी जानकार हुनुपर्दछ । समाजमा कायम रहेका परम्परागत मूल्य र मान्यतामा मात्र सीमित हुनु सही कुरा होइन । अझ सचेत विद्यार्थीले त समाजलाई वैज्ञानिक अध्ययन–अनुसन्धानसित जोड्दै अगाडि बढ्नुपर्ने हुन्छ । समाजको तेजिलो आँखाको रूपमा उनीहरूले आफूलाई स्थापित गर्नुपर्दछ । अहिलेको नेपालको सामाजिक परिस्थितिको विश्लेषण गर्दा पनि यस्ता प्रश्न हल गर्नसक्ने तथा स्पष्ट दृष्टिकोण भएका विद्यार्थीको खाँचो छ । ती विद्यार्थी आफ्नो व्यक्तिगत जीवनमा मात्र सीमित नभएर समाजलाई नयाँ बाटोमा डोराउन सक्ने हुनुपर्दछ । त्यस प्रकारको सामाजिक तथा व्यावहारिक शिक्षाले नै युवा तथा बौद्धिक शक्तिको ...