कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण

यस वर्षका लागि कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ‘ए’ प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष पनि यो कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो ।त्यस्तै, फ्रेस चेरी ‘बी’ को मूल्य प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । […]

सम्बन्धित सामग्री

अब कफिखेतीको पनि बीमा

काठमाडौं । अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिले उक्त बीमालेख सोमवार नै जारी गरिसकेको छ । समितिले कृषि तथा पशुबीमाअन्तर्गत विभिन्न पोलिसी ल्याउँदै आएको छ । यस क्रममा कफिखेतीको पनि बीमा गर्न मिल्ने गरी नयाँ पोलिसी ल्याइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कफिखेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी बीमालेख तयार गरिएको उनले बताए । अब निर्जीवन बीमा कम्पनीहरूले यसै पोलिसीको आधारमा रहेर कफिखेतीको बीमा गर्न सक्ने समितिको भनाइ छ । यस बीमालेखले कफिखेतीमा आगलागी, हुरीबतास, आँधीबेहरी, तुफान, बाढी, डुबान, असिना, हिउँवा तुसारो, खडेरी चट्याङ, पहिरो, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्ने बताइएको छ । साथै, यस बीमालेखमा सम्बद्ध व्यवसायी तथा किसानको पनि अतिरिक्त रूपमा रू. २ लाख बराबरको दुर्घटना बीमा हुने व्यवस्था पनि गरिएको छ । तर, कफिखेतीमा अप्रत्यक्ष रूपमा हुने क्षति, अधिकारप्राप्त निकायबाट भएको क्षतिको बीमाले रक्षावरण गर्ने छैन । विकिरणयुक्त पदार्थ, आणविक, रासायनिक तथा जैविक हतियार, युद्ध वा युद्धसरहको अवस्थाबाट हुने नोक्सानीमा पनि बीमाको दायित्व नहुने बताइएको छ । एकै क्षेत्रफलमा लगाइएको कफीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । त्यसरी लगाइएको सबै कफीको बीमा गर्नुपर्ने बताइएको छ । यसमा कफीको बोट संख्या, प्रतिबोटको मूल्य र उत्पादनको आधारमा समग्र खेतीको बीमांक रकम गणना गरिने छ । त्यसरी गणना गरिने बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क निर्धारण हुने बताइएको छ । यद्यपि, यसमा सरकारबाट दिइने अनुदान रकम कटौती गरेर बीमाशुल्क तिर्न सकिने छ । हाल सरकारले कृषिबीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ । त्यसअनुसार सम्बद्ध व्यवसायीले २० प्रतिशत बीमाशुल्क तिरे पुग्ने बताइएको छ । यद्यपि व्यक्तिगत दुर्घटना बीमाका लागि थप रू. ५०० रुपैयाँ प्रिमियम तिर्नुपर्ने बताइएको छ । कफिखेतीको कायम बीमांक रकम भने सम्बद्ध जिल्लाको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा तोकिएको निकायबाट प्रमाणित गराउनुपर्ने बताइएको छ । यस्तै, यस्तो बीमा गर्न व्यवसायी तथा किसानले तोकिएको प्राविधिक मापदण्डमा रहेर कफिखेती गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यदि, खेतीमा बीमायोग्य क्षति भएमा सम्बद्ध व्यवसायीले ३ दिनभित्र कुनै पनि माध्यमबाट सम्बद्ध कम्पनीमा सूचना दिनुपर्ने छ । त्यसपछि बल्ल दाबीप्रक्रिया अगाडि बढ्ने बताइएको छ । बीमितबाट पूर्णरूपमा दाबी कागज परेपछि कम्पनीले ७ दिनभित्र नै क्षति मूल्यांकनकर्ता खटाउनुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानी गर्नुपर्ने बताइएको छ । मूल्यांकनकर्ताले मूल्यांकनको प्रतिवेदन बुझाएको ३५ दिनभित्र कम्पनीले दाबी भुक्तानी दिइसक्नुपर्ने बताइएको छ ।