बंगलाचुली पार्कतर्फ आन्तरिक पर्यटनको आकर्षण बढ्दै

साउन ४, दाङ । पछिल्लो चरणमा दाङको विभिन्न ठाउँहरुमा विभिन्न पार्कहरु सञ्चालन गर्दै आन्तरिक पर्यटन विकासको थालनी गरिएको छ । यसैको उदाहरणीय बनेको छ दाङको बंगदाचुली गाउँपालिकाले बनाएको ‘बंगलाचुली पार्क’ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ । करीब २५० रोपनी क्षेत्रफलमा गाउँपालिकाले पार्क निर्माण गरेको हो । सामुदायिक वन क्षेत्रको रुपमा रहेको यो क्षेत्रफललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि बृहत योजनका साथ अघि बढाइएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘केही भौतिक संरचना बनिसकेका छन् भने केही बन्दैछन् ।’ पार्कस्थलमा अहिले रू. १ करोड २६ लाखको लगानीमा आधुनिक भ्यू–टावर निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको अम्बे निर्माण सेवा कम्पनीले भ्यू–टावर निर्माणको लागि २०७८ को असार मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ । यो सँगै भ्यू–टावरको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भ्यू–टावर सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँ, प्युठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालहरु लगायत दाङ उपत्यकाको सहजै अवलोकन गर्न सकिनेछ ।  त्यसैगरी पार्कस्थलमा प्रतिक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ ।  यी संरचना निर्माणका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयमार्फत गतवर्ष रू. ५० लाख र यस वर्षमा २० लाख गरी रू. ७० लाख लगानी गरिएको छ । त्यस्तै गाउँपालिकाले पनि २० लाख र पर्यटन बोर्ड भैरहवाले ५ लाख लगानी गरेको अध्यक्ष वलीले जानकारी दिएका छन् । विभिन्न क्षेत्रबाट करोडौंको लगानी भएपनि धेरै संरचना बनाउन अझै बाँकी रहेको त्यसलाई निरन्तरता दिदै लैजाने उनको भनाइ छ । अहिले सो क्षेत्र आन्तरिक पर्यटनकको आकर्षणको केन्द्रविन्दु बनेको छ । पार्कमा दिनदिनै घुम्न र अवलोकन गर्न आउनेहरुको लर्काे हुन्छ ।  जिल्लाको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, त्यसको पनि सुदूरपूर्व प्यूठान र दाङको सीमा क्षेत्र जिल्ला सदरमुकाम घोराहीदेखि ३२ किलोमिटरको दूरीमा छ । हराभरा जंगल, चिसो हावापानी, उत्तरतिर देखिने प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी र हिमालसँगै दक्षिणतिर नेपालका तराईदेखि भारतसम्मका फाँटसम्म देख्न पाइन्छ ।  १५ करोड लगानीमा ‘फनपार्क’  करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रा.लि.ले घोराही उपमहानगरपालिका वडा नं. १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो ।  झण्डै तीन वर्षपछि निर्माणको काम सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । ‘करीब ३ वर्षको मिहनेतपछि पार्क सञ्चालन गर्न सफल भएका छौं’, उनले भने, ‘अहिले सबैको आकर्षकणको विन्दु बनेको छ ।’ झण्डै ३ विगाह ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रुम, पाटी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिनटन कोट, वाटर पार्क, प्रतियोगीता गराउन मिल्ने स्वीमिङ पुललगायको व्यवस्था छ । जिल्लाको सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्क सबैको आकर्षकको केन्द्र बनेको छ । विदाको दिनमा आन्तरिक पर्यटकहरुलाई घुम्न घामका लागि राम्रो स्थल बनेको छ । ‘बजारको नजिक भएर पनि होला, विशेष गरी विदाको समयमा यहाँ मानिसहरुको भिड बढी हुन्छ’, महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी रहेको छ ।