महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुँदै

काठमाडौं (अस) । महालक्ष्मी  विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्ने भएको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आज (शुक्रवार)देखि लिग गराउन लागेको हो । आइतवारसम्म चल्ने उक्त लिग इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी बुधवार सार्वजनिक गरेका थिए । त्यस्तै आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए । यस्तै क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा जानकारी गराए । नकआउट फम्र्याटमा आयोजना हुने लिगमा ३२ ओटा खेल खेलाइनेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहको उत्कृष्ट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।