मोरङ-सुनसरीका अधिकांश उद्योगमा बाढी पस्यो, क्षतिको आंकलन हुँदै, बाढी बीमाले बचे उद्योगी

विराटनगर। बेमौसमी वर्षात हुँदा मोरङ–सुनसरीका अधिकांश उद्योग तहसनहस भएको छ। ती उद्योगमा बाढी पस्दा करोडौं क्षति भएको उद्योगीहरुले बताएका

सम्बन्धित सामग्री

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढी : आधाभन्दा बढी उद्योगको उत्पादन ठप्प

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगमा बेमौसमी वर्षाका कारण पसेको बाढीले करोडौंको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन शुरू गरेको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने, ‘हामीले उद्योगीहरूसँग तथ्यांक संकलन गरिरहेका छौं, तथ्यांकसहित २/३ दिनमा क्षतिको विवरण सार्वजनिक गर्नेछौं ।’ उद्योगभित्र छिरेको पानी कसरी बाहिर निकाल्ने, पानीमा डुबेका कच्चा पदार्थ र तयारी वस्तु कसरी जोगाउने भन्ने ध्याउन्नमा उद्योगीहरू रहेकाले तत्कालै तथ्यांक आउन नसकेको प्याकुरेलले बताए । उनका अनुसार सुनसरी मोरङ औद्योगिक कोरिडोरका करीब ८० प्रतिशत उद्योगमा पानी पसेको छ । धेरै उद्योगी अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त छन् । मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले बूढीगंगा, दुहबी, सोनापुर, इटहरी र मोरङको कटहरी क्षेत्रका अधिकांश उद्योगमा बाढीको पानी पसेर तहसनहस पारेको बताए । उनले अधिकांश उद्योगहरूले पानीको कारण उत्पादन बन्द गरेर उत्पादित वस्तु र कच्चा पदार्थको व्यवस्थापन थालेको जानकारी दिए । रेग्मीले उद्योगका मेशिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधनलगायत धेरैतिर नोक्सानी भएको जानकारी दिए । नेपाल उद्योग परिसंघका प्रदेश १ उपाध्यक्ष तथा क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले आफ्नो उद्योगमा ५ करोडभन्दा बढीको क्षति हुनसक्ने अनुमान गरे । बिहीवार उद्योग परिसरमा ६ ओटा पम्प लगाएर पानी फालिरहेको उल्लेख गर्दै उनले पानीले बिस्कुटमा बढी क्षति पुर्‍याउने भएकाले क्षतिको विवरण संकलन गर्न १ साता लाग्ने बताए । नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरि शर्माले उद्योगहरूमा बाढीको कारण करोडौंको क्षति पुगेको उल्लेख गर्दै बीमाको रकम तत्काल उपलब्ध गराउन सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गराएका छन् । उद्योगहरूमा मेशिनरी, तयारी वस्तु र कच्चा पदार्थको समेत क्षति भएकाले उद्योगहरूले सञ्चालन हुँदासम्म निकै क्षति बेहोर्नुपर्ने अवस्था रहेकाले बीमा रकमको भुक्तानीमा ढिलाइ नहोस् भनेर बीमा समितिका अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।