धुलिखेलमा साढे २ अर्बको लगानीमा अन्तरराष्ट्रिय ब्राण्डको ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य र रोजाइ मानिने काभ्रेपलाञ्चोकको धुलिखेलमा पहिलोपटक अन्तरराष्ट्रिय चेन ब्राण्डसहितको रिसोर्ट सञ्चालनमा आएको छ । आन्तरिक पर्यटक, सभा, सम्मेलन तथा गोष्ठीका लागि समेत परिचित धुलिखेलमा थाइल्याण्डको चर्चित बहुराष्ट्रिय कम्पनी दुसित थानी पब्लिक कम्पनी लिमिटेडको ‘दुसित थानी’ ब्राण्ड भित्रिएको हो ।  २ अर्ब ५० करोड रुपैयाँको लगानीमा धुलिखेलमा ५ तारेस्तरको ‘दुसित थानी हिमालयन रिसोर्ट’ सोमवारदेखि सञ्चालनमा आएको छ । यही साउन १ गतेदेखि सोही दुसित थानी कम्पनीकै अर्काे ब्राण्ड ‘दुसित प्रिन्सेस काठमाडौं’ होटेल काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आइसकेको छ । दुसित थानीका ब्राण्डहरू नेपाली लगानीकर्ताहरूले भित्र्याउने क्रमलाई निरन्तरता दिँदै धितोपत्र बोर्डका अध्यक्षसमेत रहेका लगानीकर्ता रमेश हमालले यो ब्राण्ड भित्र्याएका छन् ।  काठमाडौंमा सञ्चालनमा आएको एक सातापछि नै सोही हस्पिटालिटी ग्रुपको अर्काे ब्राण्ड ‘दुसित थानी’ काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा आएको हो । लगानीकर्ता हमालले रिसोर्टमा अझै केही काम गर्न बाँकी भएकाले सबै कार्य सम्पन्न गर्दा उक्त लगानी भइसक्ने बताए । ‘थुसित थानीले व्यवस्थापन, ब्राण्डिङ र ग्लोबल मार्केटिङमा सघाउने हो,’ हमालले भने, ‘उक्त ग्रुपको लिगेसी, हस्पिटालिटी क्षेत्रमा भ्यालु राम्रो भएकोले उक्त ब्राण्ड भित्र्याएको हो ।’ पूर्वी तथा दक्षिण–पूर्वी एसिया, भारत, श्रीलंका, जापानजस्ता देशहरूका पर्यटक तथा ग्राहकहरूका साथै आन्तरिक पर्यटकलाई लक्षित गरिएको उनले बताए । मुलुकमा पूर्वाधार र सडक कनेक्टिभीटी गुणस्तरीय भएमा मात्रै पर्यटक क्षेत्रमा थप राम्रो अवस्था आउने देखिएको भन्दै हमालले भने, ‘पर्यटन क्षेत्रमा दीर्घकालीन र प्रशस्त सम्भावना छ ।’  सोमवारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा ४ ओटा जुनियर स्वीट्स रूमसहित २८ ओटा डिलक्स, १८ ओटा लक्जिरी रूम रहेको उल्लेख गरिएको छ । उनका अनुसार पहिलो चरणमा यी कोठा सम्पन्न भइ रिसोर्ट सञ्चालनमा आएको छ । यस्तै यो वर्षको अन्तिमसम्ममा दोस्रो चरणको काम सम्पन्न गर्ने र रिसोर्ट पूर्णरूपमा सम्पन्न हुँदा थप ४४ ओटा कोठा थपिने उल्लेख गरिएको छ । उक्त काम सम्पन्न भएपछि यो रिसोर्टमा कुल कोठा संख्या ७२ पुग्नेछ ।  लक्जरी भिल्लासहितको उक्त रिसोर्टको ५ तारे डिलक्स रिसोर्टस्तरको वर्गीकरणका लागि पनि पर्यटन विभागबाट अनुमति लिने तयारी गरिएको छ । रिसोर्टमा एक रात बस्नका लागि न्यूनतम ३०० अमेरिकी डलर तिर्नुपर्छ । दुसित थानी हिमालय रिसोर्ट धुलिखेलका जनरल म्यानेजर क्रिस पान्याले रिसोर्ट सञ्चालनमा आउनु धुलिखेल क्षेत्रको हस्पिटालिटी सेवामा उत्साहजनक शुरूआत भएको बताए ।  धुलिखेल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको गन्तव्य भए पनि ५ तारे स्तरका होटेल तथा रिसोर्टहरू यहाँ सञ्चालनमा छैनन् । होटेल एसोसिएसन नेपाल (हान)को काभ्रे सेक्टरका अनुसार धुलिखेलमा मात्रै हाल ३ तारेस्तरमाथिका १२ ओटा होटेलहरू सञ्चालनमा छन् । पर्यटकीय स्तरका होटेलहरूको संख्या भने झण्डै २ दर्जन छ । तर, जिल्लाभर सानाठूला गरेर अहिले ८० भन्दा बढी होटेलहरू सञ्चालनमा रहेको उक्त सेक्टरकी सचिव जोत्सना सैंजुले बताइन् ।