हुण्डी कारोबार कडाइ गर्न छलफल भइरहेको छ, आयातमा पनि थप कडाइ हुन सक्छ : अर्थसचिव

चैत १५, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले हुण्डी व्यवस्थापन गर्ने विषयमा कुरा चलिरहेको बताएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव मरासिनीले हुण्डी व्यवस्थापनका लागि अर्थ मन्त्रालयले छलफल गरिरहेको बताएका हुन् । हुण्डीका कारण तरलता समस्या आएको भन्दै अर्थसचिव मरासिनीले यसतर्फ सरकारले ध्यान दिएको बताएका छन् । `अहिले बाहिरी फ्याक्टरले समस्या पारेकोले हामीलाई समस्यामा परेको छ । अर्थतन्त्र सुधारका लागि विज्ञको सुझाव महत्वपूर्ण हुनेछ´, उनले भने । ऋण लिनुभन्दा राजस्व बढी उठाउनू राम्रो पक्ष हो भन्दै उनले यसलाई सकारात्मक रूपमा लिन अर्थशास्त्रीहरूलाई आग्रह गरे ।  आयातमा सन्तुलन गर्न वस्तु आयातमा केही कडाइ गरिएको पनि उनले जानकारी दिए । आगामी दिनमा पनि केही कडाइ गर्न सकिने उनले संकेत गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरू पैसा कमाउनको लागि मात्र नभएर देशको अर्थतन्त्रमा सहयोग गर्नका लागि भएको बताए । बैंकको लगानी उत्पादनमा ३८ प्रतिशत, आयातमा ६२ प्रतिशत रहेको छ । राजस्वमा आधारित अर्थतन्त्र भएकाले बढि पैसा आयातमा गयो । बाहिरबाट आउने बस्तुमा ३० प्रतिशत अनुदान दिएकाले यहाँ उत्पादन हुने वस्तुले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । रेमिट्यान्सबाट आउने रकम राजस्वका रूपमा लिएर कृषिमा लगानी गर्नुपर्ने, राज्यले दिने सुविधा बाहेक ब्याजदर एकल बिन्दुमा हुनुपर्ने उनले बताए । उद्योग र कृषिमा लगानी गर्न ४ खर्ब रुपैयाँ सटेज भएको गोल्यानको भनाइ छ । त्यसका लागि राष्ट्र बैंकसँग कुरा गर्नुपर्ने उनले बताए ।