९ महीनाकै उच्च स्तरमा बिट्क्वाइन, बैंकिङ क्षेत्रमा संकट देखिएपछि लगानीकर्ता डिजिटल मुद्रा बजारमा

काठमाडौं । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ धमाधम बढिरहेको छ । परम्परागत बैंकिङ क्षेत्रमा संकट देखिरहेको समयमा केही लगानीकर्ताहरू डिजिटल मुद्रा बजारमा आउन थालेपछि बिट्क्वाइनको भाउले सोमवार पनि टेवा पाएको हो । क्वाइन डेस्कका अनुसार सोमवार यसको भाउ ५ प्रतिशतले बढेर प्रतिगोटा २८ हजार ३७८ डलर ३५ सेन्टमा उक्लिएको थियो । बिहानी कारोबारमा यो ९ महीनाकै उच्च बिन्दु २८ हजार ५५४ डलर ७ सेन्टमा पुगेको थियो । भाउ बढेसँगै अहिले प्रचलनमा आएका सबै बिट्क्वाइनको मूल्य पनि २६ अर्ब डलरमा आसपास उक्लिएको छ । यो पनि ९ महीनाकै उच्च हो ।  अमेरिकामा मझौला आकारको बैंक सिलिकन भ्याली बैंक (एसभी बैंक) धराशायी बनेयता विश्वको बैंकिङ क्षेत्रमा व्यापक उथलपुथल आएको छ । यस्तोमा बिट्क्वाइनको भाउ धमाधम उकालो लागिरहेको छ । अमेरिकी नियामकहरूले एसभी बैंकका निक्षेपकर्ताहरूको निक्षेप जोगाइदिन थप पहल गरेको भए पनि अमेरिका र अन्यत्र बैंकिङ क्षेत्र कमजोर बनेको चिन्ता मत्थर नहुँदा समस्या देखिएको छ । यूरोपमा समस्याग्रस्त स्वीस बैंक क्रेडिट स्वीसलाई धेरैले चासोको रूपमा हेरेका छन् । आइतवार घरेलु प्रतिस्पर्धी बैंक यूबीएसले ३ अर्ब स्वीस फ्रयांकमा क्रेडिट स्वीस किन्ने सहमति गरेका थिए । अहिले समग्रमा विश्व शेयर बजार पनि राताम्मे बनिरहेको अवस्थाले बिट्क्वाइनको भाउले थप टेवा पाउने अनुमान बढेको छ ।  यो वर्ष शुरु भएयता सुनको भाउ ९ प्रतिशतले मात्रै बढेको छ भने बिट्क्वाइनको भाउ ७० प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । बिट्क्वाइनको भाउ बढेअनुसार अन्य क्रिप्टोकरेन्सीको मूल्य भने सोमबार खासै बढेको छैन । एजेन्सी