भूमिगत पानी पुन:भरण प्रणाली निर्माण गर्दै काठमाण्डाै महानगर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ । मेयर विद्यासुन्दर शाक्यले नन्दी स्कुलमा आकासे पानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गर्दै आकासे पानी संकलन र भूमिगत पानी पुनर्भरण कार्यक्रमलाई प्राथामिकता दिएको बताउनुभयो । उहाँले प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र भूमिगत पानी पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको बताउनु...

सम्बन्धित सामग्री

महानगरले ऐतिहासिक ढुंगेधारा संरक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ऐतिहासिक ढुंगेधाराको संरक्षण र भूमिगत पानी पुनर्भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट शुरू गरिसकेको छ । इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँगको सहकार्यमा उक्त काम शुरू गरिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘शुरुआतमा कामपाका ३२ ओटै वडामा कति ढुंगेधारा छन्, कतिमा पानी नियमित रूपमा आउँछ, कतिमा आउँदैन, पानी पुनर्भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ,’ प्रवक्ता मानन्धरले भने । उनका अनुसार ढुंगेधारा प्रणालीसँग शहरी विकासको शृंखला जोडिएको छ । शहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनर्भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्न इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरिएको उनले बताए । अध्ययनमा हिती (ढुंगेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र शीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरूको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । स्मारक तथा अन्य क्षेत्रमा भएका ढुंगेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्वीर संग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिनेछ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी संकलन तथा पुनर्भरण, ढुंगेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिश पनि गर्नेछ । अध्ययन विशेषगरी कामपाका भित्री वडा, जहाँ ऐतिहासिक ढुंगेधाराको संख्या बढी रहेको स्थानसहित ३२ ओटै वडामा रहेका ती सम्पदाको तथ्यांक र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुंगेधाराको संरक्षणको काम गरिरहेको छ । रासस

सन्दर्भ विश्व पानी दिवस  : पानीको अत्यधिक दोहन प्रमुख चुनौती (फोटो फिचर)

चैत ८, काठमाडौं । सन्दर्भ  विश्व पानी दिवस । विश्वभरले सन् १९९३ मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउँदै आएको छ । जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता नेपालको सहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भइरहेको छ । हुन पनि हो, पानी प्रकृतिले दिएको निर्विकल्प अमूल्य उपहार हो ।  विश्व पानी दिवसको प्रसंगमा काठमाडौं उपत्यकामा पानीको अवस्थालाई यहाँ चर्चा गर्न खोजिएको  छ । पहिले उपत्यकाको पानीको स्रोत भनेको खोला, कुवा, इनार, सार्वजनिक धारा नै थिए । तर ती विस्तारै सुक्दै गए । जनघनत्व बढेसंगै पानीको स्रोतमा चाप बढ्यो । पर्याप्त मात्रामा पानीको मुहान संरक्षण हुन सकेन । फोहोर र प्रदुषण फैलियो । ती अतिक्रमणको चपेटा पनि परे  । हुन त काठमाडौं उपत्यकाको पानीको स्रोत भनेको भूमिगत पानी नै हो । एक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ११ करोड लिटर पानी जमीनमुनिबाट निकाल्ने गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न पानी सेवाप्रदायकले भूमिगत पानी निकाली नागरिकसमक्ष पुर्‍याउँदै आएका छन् ।  निरन्तर जनसंख्या खेपिरहेको काठमाडौं उपत्यकामा पोहोरपरारजस्तै यो गर्मी याममा पनि पानीको अभाव हुन थालेको छ।सरकारी वितरण प्रणालीमा मनग्गे पानी उपलब्ध छैन । धेरै नगरवासीहरू घरमा प्रयोग गर्नको लागि ट्याङ्करको पानी र पिउनको लागि जारको पानी किन्न बाध्य छन्। विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ। पिउने, खाना पकाउने, सरसफाइ गर्ने आदि काममा त्यति पानी आवश्यक पर्छ। तर काठमाडौं उपत्यकाको व्यथा अर्कै छ।मेलम्ची खानेपानी आयोजना अझै अपूरै रहेकोले उपत्यकाबासीहरू पानीको वैकल्पिक उपाय खोज्न बाध्य छन् । भूमिगत पानीको जथाभावी अत्यधिक दोहन अव रोकिनु पर्छ । पानीको स्रोतमा पुनर्भरण, पानीको मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा संकट हुन सक्नेतर्फ समयमै सचेत हुनपर्ने बेला आएको छ । बढ्दो जनसंख्या सिंंचाइ, कृषि उत्पादन, औद्योगिकीकरणलगायत कारण उपत्यकामा पानीको प्रयोगमा बढोत्तरी आएको छ ।  हुन  त, वैज्ञानिक खोज अनुसन्धानमा विश्व धेरै अगाडि बढिसक्दा हालसम्म पानीको कुनै विकल्प पत्ता लागेको छैन । सम्पूर्ण प्राणी र वनस्पति जगतको जीवनयापनको आधारशीलाका रुपमा पानीको आवश्यक छ । यसका लागि दिगो एवं बुद्धिमत्तापूर्व प्रयोग गर्दै भावी पुस्ताका लागि पानीको स्रोत हस्तान्तरण गर्नुपर्ने आवश्यकता टड्कारो हुँदै गएको छ ।  यस्तो यथार्थलाई ध्यानमा राख्दै पानीको उपयोगमा चुक्ने हो भने भविष्यमा आउन सक्ने जल संकटले मानव जातिलाई भयावह अवस्थामा पुर्‍याउन सक्ने कुरामा दुई मत छैन ।    स्वच्छ जलको आवश्यकता पूर्ति गर्ने भूमिगत जलको विषयमा सचेतना फैलाउन अब ढिला गर्नुहुँदैन । यसको समुचित संरक्षण्, पुनर्भरण, दिगो, किफायती र सन्तुलित उपयोगलाई जनमानसमा पुरयाउन पनि  जरुरि भइसकेको छ । भूमिगत जलको उत्पादकत्व बढाउनका लागि कृत्रिम जलाशय निर्माण, पुनर्भरण, सन्तुलित दोहन, प्रदूषण न्यूनीकरणलगायतका योजनालाई प्राथमिकतामा राख्न सरोकारवालाहरुले ध्यान दिनै पर्छ ।  अझ पानीसँग सम्वन्धित विज्ञहरु त पानी संकट कम गर्ने विभिन्न उपायहरुलाई मुलुकको सवै शहर र गाउँमा सबैतिर व्यक्तिव्यक्ति र समुदायहरूलाई सिकाउनुपर्छ भन्न थालेका छन् । समृद्धि र समस्त प्राणी जगतकोआधार तथा पर्यावरणको आधारका रुपमा लिएर पानीको महत्वलाई आत्मसात गर्न अव ढिला गर्नुहुँदैन । तसर्थ बढ्दो जलवायु परिवर्तनको प्रभाव भूमिगत पानीमा परिरहेको अवस्थामा सवैले आ आफ्नातर्फबाट भुमिका निर्वाह गर्न आवश्यक छ । तस्वीरहरु : सुनिल शर्मा आर्थिक अभियान

पानीको स्रोत जोगाउन जुट्यो कामपा

काठमाडौं । काठमाडाैं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनर्भरण र आकासे पानी संकलन प्रणाली निर्माण थालेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रवार नन्दी स्कुलमा आकासे पानी संकलन तथा भूमिगत पानी पुनर्भरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन् ।सोही अवसरमा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासे पानी संकलन र जमिन पुनर्भरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाइएको बताए । ‘अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट््यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ,’ कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुंगेधारामा पानीको बहाव बढ्ने अपेक्षा उनले गरे । कामपाका वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्यांक फ्लस डाइभर्टरमा पठाइने बताए । जलाधार क्षेत्रमा भएको धुलो, कसिंगर वा अन्य फोहोरसहितको पानी यसमा भरिन्छ । रासस

चितवनमा ‘मोज्याक’ टायलको प्रयोग बढ्दो

भदौ ३०, चितवन । लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो । भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ । अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् ।  महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएका टायल लगाउन सिफारिस गर्ने गरेको बताउँछन् । ६ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उनको भनाइ छ । भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उनी बताउँछन् । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ ।  यहाँको बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्य ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउँछन् ।  यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘ढलान र कालोपत्रमा पानीको निकास चाहिन्छ, मोज्याक लगाउँदा जमिनमा पानी ‘रिचार्ज’ हुने हुँदा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्छ ।’ चितवन जस्तो भूमिगत पानी प्रयोग हुने ठाउँमा मोज्याक टायलको प्रयोग प्रभावकारी हुने उनको भनाइ छ ।  उनले भने, ‘स्वचालित मेसिनले बनाउने हुँदा प्रयोगशाला परीक्षण गर्नुपर्ने समस्यासमेत हुँदैन ।’ हेर्दा आकर्षक देखिने र लामो समय टिकाउ हुने उनी बताउँछन् । स्थानीय उत्पादनहरु ढुंगा, गिट्टी, बालुवासमेतको प्रयोग हुने उनको भनाइ छ । निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव लामिछानेका अनुसार एम–२५ भन्दा माथि भारवहन क्षमता भएको एशियन कङ्क्रिटो मात्र जिल्लामा उपलब्ध भएकाले यहाँ यसको अत्यधिक उपयोग भएको छ । हालै मात्र जग्गदम्बाको उत्पादन पनि आउन थालेको आफूले सुनेको उनले बताए । नारायणगढको कृषि प्रवर्द्धन बजार विकास प्रालिको ठूलो भू–भागमा मोज्याक टायल लगाइएको छ । सो कम्पनीका प्रबन्ध निर्देशक धीरप्रसाद धितालले आफूहरुले रू. दुई करोडभन्दा बढी लगानी गरेर एशियन कङ्क्रिटोको मोज्याक टायल लगाएको बताए । उनले भने, ‘ठूला–ठूला ट्रक भार बोकेर घुम्दा कालोपत्र भएको भए भत्किन्थ्यो होला, तर मोज्याक टायल केही भएको छैन ।’ यससँगै सुन्दर बनेको र पानी सोसेका कारण सहज भएको उनी बताउँछन् । पूर्वी चितवनको रत्ननगरमा होटल स्टार ब्यांक्वेटमा पनि एशियन कङ्क्रिटो मोज्याक टायल लगाइएको छ । होटलका सञ्चालक भेषराज दुवाडी ढलान र कालोपत्रभन्दा मोज्याक टिकाउ तथा सुन्दर हुने हुँदा प्रयोग गरेको बताउँछन् । विभिन्न डिजाइनका हुने हुँदा आकर्षक भएको उनले बताए । यहाँको बजारमा अत्यधिक मात्रामा एशियन कङ्क्रिटो प्रयोग हुँदै आएको छ । कम्पनीको आधिकारिक विक्रेता ओम सञ्जीवनी कङ्क्रिट कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने गत एक वर्षमै रू. १० करोडभन्दा बढीको मोज्याक टायल विक्री गरेको बताउँछन् ।  नारायणी नदी किनार, कृषि प्रवर्द्धन बजार केन्द्र, देवीस्थान पार्क, भरतपुर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी र निजी क्षेत्रमा एशियन कङ्क्रिटो नै प्रयोग भएको न्यौपानेको भनाइ छ । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उक्त कम्पनी रहेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरिएको हो । कम्पनीका उपाध्यक्ष श्यामल झा रू. १५० करोड लगानी गरेर अत्याधुनिक प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरिएका कारण बजारमा यसको माग बढिरहेको बताउँछन् ।  भारवहन क्षमता एम–३५ देखि एम–५५ सम्म रहेका कारण यसको माग बढी भएको झाको भनाइ छ । यही जर्मन प्रविधिको मेसिन भारतमा पनि दुईओटा मात्रै रहेको उनले जानकारी दिए ।  कोभिडका कारण भारततर्फ निर्यात रोकिएको जनाउँदै उनले सहज बनेसँगै भारतमा समेत निर्यात गर्ने योजना रहेको बताए । गत वर्षमात्रै कम्पनीले रू. ५० करोडभन्दा बढीको उत्पादन विक्री गरेको छ । रासस

भूमिगत पानी पर्याप्त नआएपछि मुहान मर्मत गर्दै खानेपानी बोर्ड

वैशाख ६, धरान । सुक्खा मौसममा धरानमा हुने खानेपानीको अभावलाई पूर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा भुमिगत पानीको लागि परियोजना सञ्चालन भएको थियो । तर भूमिगत पानी पर्याप्त हुन नसक्दा धरान खानेपानी बोर्ड सतहको पानीका मुहानहरु मर्मतमा जुटेको छ ।  खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ताहरु बोर्डको विरोधमा उत्रिएका थिए । बोर्डले भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि अहिले मुहान ममर्ततर्फ केन्द्रित बनेको हो ।  सुक्खा मौसममा भूमिगत पानी ५० प्रतिशत पनि आपूर्ति गर्न नसकेपछि बोर्डले खानेपानी सहज बनाउन पम्प मर्मतसँगै मुहान ममर्तमा जुटेको छ । खानेपानीको मुख्य स्रोत मानिएको सर्दु र खर्दुको मुहान मर्मत गर्न बोर्ड अघि सरेको हो ।  सुक्खा मौसम लागेसँगै फागुनदेखि नै खानेपानी अभाव हुन थालेको धरानमा फागुन १७ गतेदेखि नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेर खानेपानीको सम्पूर्ण जिम्मा लिएको हो । बोर्डले जिम्मा लिइसकेपछि सहज रुपमा खानेपानी आपूर्ति हुुने अपेक्षा राखेका स्थानियका लागि संस्थानले वितरण गर्दा र बोर्डले जिम्मा लिएर वितरण गर्दामा कुनै फरक नपाएपछि बोर्डप्रति उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् ।  बोर्डले सर्दु र खर्दुको मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको जानकारी दिएको छ । बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्न चुहावट भएका क्षेत्रको पहिचानका लागि वस्तुगत अवस्था बुझेका छन् ।  इन्जिनियर अधिकारीले भने, ‘खानेपानीको स्रोतको चुहावट कम गर्न शनिवार र आइतवार त्यस क्षेत्रमा गएका थियांै, चुहावट भएको स्थानको पहिचान गरी हामी चाडै मर्मत कार्यमा केन्द्रित हुन्छौं ।’ धरान १३ स्थित वीपी पार्क माथिल्लो भागमा रहेको जलाधार क्षेत्रको मुहानमा वीपी पार्क निर्माण भएपछि चहलपहल बढेकोले खानेपानी मुहान नै फोहोर भएको उनले बताए ।  बोर्डले यसभन्दा अगाडि पत्रकार सम्मेलनमार्फत भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको जानकारी दिइएको थियो । जसमा संस्थानको वेलहरुबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाको थप ७ ओटा वेलहरुबाट दैनिक ९२ लाख २० हजार लिटर भूमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुक्खायाममा ४५ लाख लिटर पानी जम्मा हुने गरेको जानकारी दिएको थियो । धरानमा दैनिक दुई करोड लिटर पानीको आवश्यकता भएपनि सुक्खा मौसममा १ करोड पानी मात्र उपलब्ध हुने गरेको छ । यो समस्या नेपाल खानेपानी संस्थान धरान शाखाले वितरण गर्दा पनि थियो भने बोर्डले जिम्मा लिइसक्दा पनि स्थानिहरुले केही फरक महशुस गरेका छैनन् ।

पानीको संरक्षण गरौँ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”