स्वदेशमा किन बस्न चाहँदैनन् युवा ?

काठमाडौं । तीन दिनअघि कोरिया रोजगारीमा जाने विषयलाई लिएर भएको झडपमा दुई युवाले ज्यान गुमाए । शिप बिल्डिङमा भाषा परीक्षा दिएकाले म्यानुफ्याक्चरिङ सेक्टरमा पनि सहभागी गराउनुपर्ने माग गरेका थिए । यसबाट युवायुवतीको चाहना जे जसरी भए पनि वैदेशिक रोजगारीमा जाने देखिन्छ । त्यसो त कोरियाबाहेक अन्य मुलुकमा पनि रोजगारीमा जान खोज्ने युवायुवतीको संख्या बढ्दो छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुग्दा विदेश पस्नेको संख्या निकै बढेको पाइन्छ । मुलुकको राजनीतिक व्यवस्थामा परिवर्तन भएपछि समग्र आर्थिक अवस्था सुधार हुने मात्र नभई हरेक युवायुवतीले रोजगारी पाउँछन् भन्ने राजनीतिक दलहरू पालैपालो सत्तामा पुगेको बेला यसरी देश छाड्नेहरूको संख्या बढेपछि यसको कारण के हो ? खोजी गर्नुपर्ने देखिएको छ । त्यसो त वैदेशिक रोजगारीमा जानु नराम्रो होइन तर महत्त्वपूर्ण कुरा किन अधिकांश युवायुवतीको चाहना वैदेशिक रोजगारी भयो भन्ने हो । विकासविद्हरूले नेपालबाट ठूलो संख्यामा युवायुवती विदेश पलायन भएको भन्दै स्वदेशमै काम गर्न सक्ने वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।  आर्थिक वर्ष (आव) २०७९/८० मा श्रमस्वीकृति लिएर हालसम्मकै सबभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार त्यस वर्ष नयाँ र नवीकरणसहित ७ लाख ७१ हजार युवायुवती श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गए । त्यस्तै अध्ययनका लागि १ लाख १० हजार बढीले वैदेशिक अध्ययन अनुमतिपत्र लिए । यो क्रम अझै रोकिएको छैन । गत मङ्सिरमा मात्र वैदेशिक रोजगारीमा जान विभागबाट ७१ हजार २७६ ले श्रमस्वीकृति लिएका छन् । विकासविद्हरू अहिलेकै अवस्था कायम रहने हो भने केही वर्षमै देश युवाविहीन हुने आशंका गर्छन् ।  ‘देश विकास गर्न युवाशक्ति भएन भनेर रोइकराई गर्नुको साटो उचित पारिश्रमिकसहित कामको ग्यारेन्टी दिलाउने हो भने कैयौं युवा विदेश जान रोकिन्छन्,’ त्रिभुवन विश्वविद्यालयका अध्यापक बालकृष्ण शर्माले भने, ‘ओहोदामा बस्नेले केबल भाषण गर्ने, रोजगारीका अवसर सृजनामा पहल नगर्दा युवा पुस्ताले स्वदेशमा अवसर देखिरहेको छैन ।’ स्वदेशमा रोजगारीका अवसर सृजना गर्न उद्योगधन्दा र निजीक्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ । विदेश पस्नेको संख्या बढेपछि देशको उत्पादनमूलक क्षेत्रको काम कसले गर्छ भन्ने चिन्ता गर्न थालिएको छ ।  स्वदेशमै पर्याप्त रोजगारी  त्रिपुरेश्वरको एक रेस्टुराँले सात जना कर्मचारी मागेको १ महीनाभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म त्यो रेस्टुराँले आवश्यकताअनुसार कूक, वेटर, हेल्परजस्ता कर्मचारी फेला पार्न सकेको छैन । ‘राम्रा कर्मचारी फेला पार्न सके बिहान ८ देखि दिउँसो ४ बजेसम्म काम गरेबापत खाना खुवाएरै मासिक १५/१६ हजार रुपैयाँ पारिश्रमिक दिन खोजेका छौं,’ रेस्टुराँ सञ्चालक टीकाश्वरी जोशी भन्छिन् ।  त्यस्तै मोरङ, भौडा निवासी रमेश खतिवडाले राम्रो अनाज उत्पादन हुने जमीनका लागि कृषि मजदूर खोजेको महीनौं भइसक्यो । केही वर्षअघिदेखि काम गर्दै आएका व्यक्तिले अबदेखि खेती नगर्ने बताएपछि खतिवडाले कृषि मजदूर खोजिरहेका हुन् । खेतीपातीका लागि आवश्यक पर्ने मल, बीउ, पानी जस्ता सुविधा उपलब्ध गराउने शर्तमा कामदार खोज्दा पनि नपाएपछि हैरान भइसकेको उनले बताए । गाउँघरमै बसेर कृषिक्षेत्रमा काम गर्ने मजदूर फेला पार्न नसके पनि सोही काम गर्न कोरिया जाने युवायुवतीको भीड देख्दा उनलाई अचम्म लाग्छ । नेपालको तुलनामा विदेशमा गरिने कृषि र अन्य श्रममा निकै जोखिम हुँदाहुँदै पछिल्लो समय अनावश्यक रूपमा विदेश मोह बढेको उनको भनाइ छ । खतिवडा नेपालमा रोजगारी पाइएन भन्दै वैदेशिक रोजगारीमा जानु परेको गुनासो गर्नेको तर्कलाई सही मान्दैनन् । ‘अहिले नै सञ्चालनमा रहेका उद्योगधन्दा र कृषिक्षेत्रका लागि श्रमिकको अभाव भइसकेको छ,’ उनी भन्छन्, ‘धेरैले लगानी गर्न नपाएर घरजग्गा खरीद गर्न खपत गरिरहेको रकम उत्पादनमूलक क्षेत्र तथा उद्योग, कलकारखानामा लगाउने हो भने श्रमबजार विस्तार हुन्छ ।’  सरकारले युवालाई स्वदेशकै कामप्रति मोह जगाउन विशेष योजना र कार्यक्रम ल्याउन आवश्यक भइसकेको उद्योगी, व्यवसायी बताउँछन् । काठमाडौं, कालिकास्थानका भावुकजंग थापाले ६ महीनाअघि जन्मेको छोराको रेखदेख र घरायसी काम गर्न घरेलु कामदार खोजेको ३ महीनाभन्दा बढी भइसक्यो । घरेलु कामदारका लागि उनले नाम चलेका अखबारदेखि एफएम रेडियोसम्ममा विज्ञापन गरे । तर, अहिलेसम्म घरेलु कामदार फेला पार्नु त कता हो कता उक्त विज्ञापनबारे चासो राख्ने व्यक्तिसमेत फेला नपरेको उनले बताए । ‘बिहान र बेलुका दुई/दुई घण्टा काम गरेबापत मासिक १३ हजार रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव गर्दा पनि खोजेको घरेलु कामदार महिला फेला पार्न सकेको छैन,’ उनले भने, ‘युवायुवती रोजगारी पाइएन भनेर सडकमा चर्को कुरा गर्छन् । तर, कामको अवसर दिँदा बेरोजगार भएको गुनासो गर्नेले पनि चासो नदिने रहेछन् ।’  सोही काम गर्न कैयौं महिला खाडी मुलुकमा पुगिरहेको र त्यहाँ विभिन्न समस्यामा परेका खबर सुन्दा आफूलाई अचम्म लाग्ने गरेको थापाको भनाइ छ । स्वदेशमै रोजगारीका अवसर हुँदा समेत युवायुवतीको विदेश मोह नघट्दा अब सरकारले युवालाई स्वदेशकै कामप्रति मोह जगाउन विशेष योजना र कार्यक्रम ल्याउन आवश्यक भइसकेको उद्योगी, व्यवसायी बताउँछन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघका एक पदाधिकारीले अधिकांश युवायुवतीको चाहना वैदेशिक रोजगारी हुँदा नेपालमा उद्योग, व्यवसाय चलाउन गाह्रो परिरहेको गुनासो पोखे ।  उनले विदेश मोहले स्वास्थ्य संस्थामा काम गर्ने डाक्टर, नर्सको समेत अभाव भइरहेको बताए । ‘अब पनि राज्य वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको अंक गणितमा रमाउने हो भने नेपालमा वृद्धवृद्धा र बालबालिका मात्र हुनेछन्,’ उनले भने, ‘त्यसैले राज्यले युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन आवश्यक भइसकेको छ । ता कि भविष्यमा भोग्नुपर्ने जनशक्ति अभावलाई व्यवस्थापन गर्न सकियोस् ।’ विज्ञहरू काठमाडौंमा मात्र ३० देखि ५० हजार महिलाले घरेलु कामदारका रूपमा काम पाउन सक्ने सम्भावना रहेको बताउँछन् । घरेलु कामदारबाहेक स्वदेशमा सिकर्मी, डकर्मीदेखि प्लम्बरसम्मको अभाव हुने गरेको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयका पूर्वउपमहानिर्देशक रुद्र सुवालका अनुसार पर्यटन, यातायात र व्यापारको क्षेत्रमा प्रशस्तै रोजगारीको सम्भावना छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका कर्मचारी नेपालमा कति श्रमिक खपत हुन्छन् भन्नेबारे गहन अध्ययन नभए पनि नेपालको श्रमबजारमा वर्षमा सरदर साढे २ लाख जनशक्ति खपत हुने बताउँछन् । हरेक वर्ष श्रमबजारमा प्रवेश गर्ने युवाशक्तिमध्ये ठूलो संख्या वैदेशिक रोजगारीमा जाँदा खेतीयोग्य जमीन बाँझो हुन थालिसकेको छ भने तराईका सीमावर्ती गाउँको कृषि कर्म भारतीय मजदूरको भरमा चलिरहेको छ, ।  यतिखेर औद्योगिक क्षेत्रका लागि मात्र १ लाखदेखि सवा लाख श्रमिकको आवश्यकता रहेको उद्यमी बताउँछन् । पछिल्लो समय श्रमिक केन्द्रित उद्योगमा कामदारको अभाव बढ्दै गइरहेको उनीहरूको भनाइ छ । पर्यटन, कृषि, यातायात, व्यापारलगायत क्षेत्रमा श्रमिकको अभाव बढ्दै गएको धेरैले अनुभव गरे पनि नेपालमा अहिलेसम्म गहन अध्ययन नभएका कारण यकीन संख्या भेट्न भने मुश्किल छ । राष्ट्रिय तथ्यांक कार्यालय वर्षमा करीब साढे ४ लाख युवाशक्ति श्रम बजारमा प्रवेश गर्ने बताउँछ । तर, वैदेशिक रोजगारीमा जानेको संख्या त्योभन्दा बढी हुने गरेको छ । श्रमस्वीकृति लिनेमध्ये करीब ९५ प्रतिशत खाडी मुलुक र मलेशिया जाने गर्छन् ।  वैदेशिक रोजगारीको मोह बढ्दै जानुको मुख्य कारण सरकारले देशमा उद्यमशीलताको वातावरण बनाउन नसक्नुलाई धेरैले लिएका छन् । कोरिया रोजगारीमा जान खोजिरहेका चितवनका केशव कार्कीले स्वदेशमा जुनसुकै काम गर्न खोजे पनि सरकारी निकायबाट सहयोगभन्दा बढी असहयोग हुने गरेको गुनासो गरे । ‘म पनि स्वदेशमै केही गर्छु भनेर कैयौं वर्ष खेतीपातीमा लागें,’ उनले भने, ‘तर, मैले कहिल्यै पनि न त भनेको समयमा मल पाउन सकें न उत्पादित वस्तुको बजार नै ।’ किसानको तहबाट गर्न नसकिने समस्याको समाधान अन्य मुलुकमा सरकारले गरिदिने गरेको प्रसंग सुनाउँदै उनले भने, ‘नेपालमा भने सरकारका तर्फबाट गर्नुपर्ने काम नभएपछि विदेश जानुको विकल्प नहुँदो रहेछ ।’ उनले बढ्दो वैदेशिक रोजगारीमा सरकार गम्भीर हुने हो भने किन युवा स्वदेशमा बस्न चाहँदैनन् भनेर अध्ययन गर्नु आवश्यक रहेको बताए । 

सम्बन्धित सामग्री

समृद्धिका लागि युवा

युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना।...

दिगो विकासका लागि युवा पदयात्रा

दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थि...

नेपाल युवा परिषद्द्वारा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन

नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा काठमाडौँमा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मेलनको उद्घाटन गर्ने छन् । भोलि उपसभामुख इन्दिरा रानामगरले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको छ ।   त्यस्तै, सम्मेलनमा राज्यका उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद्, लब्दप्रतिष्ठित उद्यमी, युवा अभियन्तालगायतको व्यक्तित्वले विभिन्न […]

सीएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच सम्झौता

युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]

युवा र गरिबीलक्षित कार्यक्रम एकीकृत बनाउन युवा तथा खेलकुदमन्त्रीको सुझाव

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा र गरिबीका क्षेत्रका काम गर्ने निकायहरु धेरै हुँदा प्रभावकारी काम नभएकोले अब एकीकृत गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद र शिक्षा पत्रकार सञ्जाल...

युवा संघको प्रदर्शनमा लाठीचार्ज

नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ।...

नेपाली युवा उद्यमी मञ्चले ‘महिला–युवा उद्यमी सम्मेलन– २०२२’ आयोजना गर्दै

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आठौँ महिला–युवा उद्यमी सम्मेलन– २०२२ आयोजना गर्ने भएको छ ।

युवा दिवसमा युवा संघको दीप प्रज्ज्वलन (फाेटाे फिचर)

काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंको माइतीघरमा बिहीबार बेलुकी दीप प्रज्वलन गर्दै युवा संघका कार्यकर्ता।नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको युवा संघले दीप प्रज्वलन गरेको हो।

युवा गुमाउँदै नेपाल

विकास भाटक्षेत्री ।। आजकल राजनीतिक बहसमा ‘युवा’ शब्द हावी भएको देखिन्छ । युवा भन्ने शब्द आफैमा उर्जावान छ । युवालाई ‘परिवर्तन’ को पर्यायवाची पनि रूप लिने गरिन्छ । युवाले नै केही न केही परिवर्तन ल्याउँछ भन्ने आम विश्वास छ । तर प्रश्न उठ्छ, के ‘युवा’ नै अन्तिम ढाल हो त ? देशले ‘युवा’ साँच्चिकै खोजेको हो कि युवाले अन्य देश खोजेको हो ? नेपालमा १६ देखि ४० वर्षसम्मकालाई आधिकारिक रूपमा युवा मानिन्छ । तर हामीले रूपकको परिवेशमा मानिने ‘युवा’ बारे कसलाई युवा भन्ने वा नभन्ने, आफैमा विवादास्पद छ । विगतका सामाजिक, राजनीतिक उत्तरचढावलाई युवाको दृष्टिकोणबाट हेर्ने हो भने सन्देहास्पद प्रश्न उठ्छन् । आखिर युवा केका लागि ? ‘बलि’ का लागि वा ‘बल’ का लागि ? धेरै नेपाली युवालाई बलि चढाएर यो देशमा आफ्नो परिपाटी बनाउने शैली थियो, दुर्भाग्यवश अहिलेसम्म यो प्रवृत्ति नेपाली समाज र राजनीतिमा कायमै छ । विभिन्न जनान्दोलनमा मात्र नभई आफ्नो घरभित्र पनि ‘फलानो’ को सपना देखाई युवायुवतीको भित्री आवाज र आकाङ्क्षालाई अँठ्याउने अर्धसामन्ती अभिभावकको कर्तुत पनि ‘बलि’ सरह हो । युवा ‘बल’ को कुरा गर्ने नै हो भने भारतीय नवयुवा करमचन्द गान्धी मात्र नभई हाम्रै नेपाली इतिहासले बोकेको नवयुवा सङ्गठित कमरेडको उदाहरण अझै जीवित छ । नेपालका डाँडाकाँडा, तराई–मधेस बाट एकजुट भई गणतन्त्र ल्याएर एक विन्दुमा सफल भएकै हुन् । तर आज आम जनताप्रति जवाफदेही नहुने गणतन्त्र “कागलाई बेल पाक्यो हर्ष न विस्मात्” जस्तै भएको छ । त्यस बेलाका कतिपय नवयुवा नेता सत्तासिन भए पनि आज नेपालले वास्तविक युवा नेता गुमाएको छ । तथ्याङ्कअनुसार अहिलेसम्म नेपालबाट ५० लाखभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि देश छाडेका छन् । तीमध्ये ८० प्रतिशत युवा खाडी मुलुक र मलेसिया गएका छन् । संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार नेपालमा धेरै युवा झुग्गीबस्ती र ग्रामीण क्षेत्रमा हुर्किएका छन् । नेपाली जनताको मध्यआयु २४ वर्ष रहेको छ । यसको मतलब यदि जनसङ्ख्यालाई आयुको हिसाबले आरोही क्रममा विभाजन गर्ने हो भने ...