बजेट नपाएपछि पशु विभागमा ताला

सरकारले बजेट नदिएको भन्दै पशुपक्षीसँग सम्बन्धित १६ संगठनहरूले बिहीबार पशु विभागमा तालाबन्दी गरेका छन् । संगठनहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार विभागमा तालाबन्दी गरेको भेटरिनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण  खतिवडाले बताए ।  यसअघि सरोकारवाला निकायहरूले कार्यालयमा कालोपट्टी बाँधेर...

सम्बन्धित सामग्री

दुई महीनाको तलब नपाएपछि वीपीका कर्मचारीले दिए पुन: आन्दोलनको चेतावनी

भदौ २९, धरान । वीपी सुधार अभियान अन्तर्गत असार १ गतेदेखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थीले आन्दोलन खुकुलो बनाए लगत्तै पुनः कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।  दुई महीनादेखि तलब नपाएका कर्मचारीहरुले पारिश्रमिक दबाब कमिटी गठन गरेर तलब उपलब्ध गराउन प्रतिष्ठान प्रशासनलाई दबाब दिँदै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।  चिकित्सक तथा विद्यार्थीहरुले संयुक्त संघर्ष समिति बनाएर वीपी सुधार अभियान अन्तर्गत प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्दै ओपिडि सेवा बहिष्कार गरेका थिए । गत आइतवारदेखि ओपिडि सेवा सुचारु गर्दै आन्दोलनलाई केही खुकुलो बनाएका थिए ।  प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रशासनिक कार्य ठप्प हुँदा तलब सेवा सुविधा नपाए पछि कर्मचारीहरुले भदौ ३० गतेसम्म तलब उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  भदौ २७ गते बसेको पारिश्रमिक दबाब कमिटीको बैठकले दुई महीनाको पारिश्रमिक भदौ ३० गतेसम्म उपलब्ध गराउन माग गरेको छ । ३० गतेभित्र पनि उपलब्ध नगराए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । पारिश्रमिक दबाब कमिटीका संयोजक खड्गबहादुर राउतले जोखिमको अवस्थामा काम गर्दा सेवा सुविधा थप हुनु पर्नेमा पाउने पारिश्रमिक नै नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।  उनले भने, ‘कोरोनाको महामारीमा पनि जोखिम मोलेर भएपनि काम गरियो, कोरोना भत्ता दिने सरकारको निर्णय त परै जाओस्, आफूहरुले पाउने तलब समेत पाउन सकिएको छैन, दुई/दुई महीना पारिश्रमिक नआएपछि हामीले कसरी घर चलाउने ?’ उनीहरुले प्रतिष्ठानलाई दबाब दिन आइतवार ओपिडी अगाडि दबाब कार्यक्रमको आयोजना समेत गरेका थिए । समितिकै सदस्य हेमबहादुर बस्नेतले काम गरेको पारिश्रिमक नपाउनु प्रतिष्ठानको लाचारीपन भएको बताए । उनले पटक पटक प्रतिष्ठान प्रशासनमा तलबको लागि ध्यानाकर्षण गराउँदा समेत लेखामा अहिले तलब खुवाउने बजेट नै नभएको बताउने गरेको बताए ।  उनले भने, ‘तलबको विषयमा हामीले भिसीलाई जानकारी गराएका थियौ, उहाँले तालबन्दी खुल्ने वातारण मिलाई दिए, २४ देखि ४८ घण्टामा खुवाउने बताउनु भएको छ ।’  संयुक्त संघर्ष समितिले लगाएको ताला खोल्ने अधिकार नभएको बताउँदै त्यो हाम्रो माग भन्दा बेग्लै पाटो भएको बस्नेतले बताए । उनले भने, ‘हामीले ध्यानाकर्षण गराएपछि भिसी कार्यालयमा मिटिङ बसेको थियो, लेखाले हामीसँग तलब खुवाउने बजेट छैन भन्ने जवाफ दिएको जनकारी पाएका छौैं, हामीले ३० गतेसम्मको अल्टिमेटम दिएका छौं, त्यसपछि पनि पारिश्रमिक पाइएन भने हामी काम नै बहिष्कार गर्छौ ।’ कर्मचारीहरुको दबाब समूहमा २२ जना सम्मिलित छन् । प्रतिष्ठानको विभिन्न विभागमा काम गर्ने कर्मचारीले प्रति कर्मचारी २२ देखि २५ हजारको मासिक तलब खाने गरेका छन् ।  यता धरानका सर्वसाधारण भने प्रतिष्ठान उपचार केन्द्र नभई आन्दोलन गर्ने थलोको रुपमा विगतदेखि नै परम्परा बसेको बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा धरानका स्थानीयले भने, ‘सर्वसाधारणको उपचार गर्ने स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, तर प्रतिष्ठानभित्र हुने चरम भ्रष्टाचार, बेथिति, विसंगति र आन्दोलनका कारण अस्पताल नै विरामी परेको छ, प्रतिष्ठान कसरी बचाउने भन्ने कुरातर्फ सबैले सोच्नु पर्ने बेला आएको छ ।’