कनेक्टिभिटी र क्षेत्रीय मूल्य शृंखला विकासका सम्भावनाबारे छलफल

काठमाडौं । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र तथा अन्य दक्षिण एसियाली देशहरूबीच कनेक्टिभिटी र क्षेत्रीय मूल्य शृंखला विकासका सम्भावनाबारे काठमाडौंमा छलफल गरिएको छ । नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र नेपाल उद्योग वाणिज्य महासंघबीच मंगलवार साँझ भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो । बैठकमा दुुई देशबीचको व्यापार, लगानीको पछिल्लो अवस्था र व्यापारमा भएको सुधारका विषयमा छलफल भएको महासंघले बताएको छ । छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध हटाउनुपर्ने, आयात निर्यात थप सहजीकरण गर्नुपर्ने र लगानी विस्तारमा रहेका समस्या समाधानमा द्विपक्षीय पहल गर्नुपर्ने भारतीय टोलीले बताएको थियो । साथै आयात निर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदि विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल–भारतबीच विशिष्टीकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधैं भारतीय सहयोगको अपेक्षा गरेको बताए । दुुई देशबीचको व्यापारिक नाकाहरूको अवस्था अत्यन्त कमजोर रहेको र चिया, अलैंची, अदुवा लगायत नेपाली कृषि उत्पादन भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेको भन्दै उनले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने बताए । कृषि उत्पादन परीक्षणको नाममा गैरभन्सार अवरोध सृजना गरिँदा नेपाली निर्यातकर्ताले ठूलो नोक्सानी बेहोर्नुपरेको अध्यक्ष गोल्छाले उल्लेख गरे । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योगहरू समस्यामा परेको जानकारी समेत उनले गराए । नेपाली उत्पादन भारतीय बजारसहित बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरूको विस्तार तथा स्तरीकरणमा सहयोग हुनुपर्ने अध्यक्ष गोल्छाले बताए । यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भए पनि अबको समयमा क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्दै आर्थिक गतिविधि र लगानी प्रवद्र्धन स्मार्ट तरीकाले गर्नुपर्ने धारणा उनले राखे । सो अवसरमा नेडफीका अध्यक्ष पीभीएसएलएन मूर्तिले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्बद्ध परियोजना स्थापना गर्न संस्थाले लघु, साना, मझौला र ठूला उद्यमलाई वित्तीय सहायता प्रदान गर्दै आएको बताए । यसमा नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भन्ने अध्ययनका लागि आफूहरू नेपाल भ्रमणमा आएको उनले जानकारी दिए । यस्तै जवाहरलाल नेहरू विश्वविद्यालयका वरिष्ठ प्राध्यापक महेन्द्र पी लामाले दुवै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरीका र प्रविधि आदिमा रहेका असमानता कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिन सकिने बताए ।