तातोपानी बजार र दुखुबेँसीगाउँ संरक्षणका लागि बजेट माग

गलेश्वर । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेँसीगाउँ संरक्षणका लागि नेपाल सरकारसँग बजेट माग गरिएको छ । नेपाली कांग्रेसका जिल्लासभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट विनियोजन गरी बजार संरक्षणका लागि संघीय सरकारबाट यथेष्ट बजेट विनियोजनको माग गर्दै प्रधानमन्त्री देउवालाई अनुरोधसहित वस्तुगत विवरण हस्तान्तरण गरेका छन् ।      बजार संरक्षणमा अहिलेसम्म बजेट नराखिएकाले यसपटक संरक्षणको काममा ढिलाइ भए अबको बर्खामा थप क्षति हुने जानकारी समेत प्रधानमन्त्री देउवालाई गराइएको उनले जानकारी दिए । तातोपानीको मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित हुनाका साथै अन्य घरधुरीसमेत जोखिममा रहेका छन् । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेको अवस्थामा बर्खा अगाडि नै मुख्य जोखिम स्थानमा संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको भनाइ थियो । यसअगाडि नेपाली कांग्रेसका नगर सभापति रवीन्द्र केसीमार्फत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई बजार संरक्षणका लागि दीर्घकालीन योजनाको माग गदैं ज्ञापनपत्र बुझाइएको थियो ।      तातोपानी बस्ती संरक्षणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट प्राविधिक ल्याएर डिपिआरको कामसमेत भएको थियो भने नगरपालिका र जिल्लाका राजनीतिक दलले समेत राहत वितरण गरेका थिए । यसैबीच मालिका गाउँपालिका–६ दरबाङको तल्लो दुखुमा नदी कटानबाट संरक्षणका लागि पनि रु १ करोड ५० लाख बजेट माग गर्दै सभापति गर्बुजा र पालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रधानमन्त्रीमार्फत सम्बन्धित मन्त्रालयमा बजेट माग गरेका थिए । रासस