बागमती प्रदेशका कृषकले असारभित्रै दूधको अनुदान पाउने

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूध र पशु स्रोतकेन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्रै उपलब्ध गराउने गरी काम अघि बढाएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका १ लाखभन्दा बढी कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रू. १६ करोड र पशु स्रोतकेन्द्रका लागि रू. १ करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । आइतवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘असारभित्र अनुदान रकम बाँड्नेगरी काम गर्दै छौं ।’ निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेकाले प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए । दूध अनुदानमा गतवर्ष चितवनका किसानले रू. ८ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भने, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गतवर्ष प्रतिलिटर २ रुपैयाँ अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रू. २२ करोड आवश्यक पर्ने उनले बताए । गतवर्षको जति नपाए पनि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरूले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट वञ्चित हुने अवस्थामा पुगिसकेको उनले बताए । काम नगर्ने कर्मचारीलाई सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने उनले बताए । कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाइएको जानकारी दिएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले गोपनीयता भंग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ । रासस