फोरजीका प्रयोगकर्ताको संख्यामा वृद्धि, १०२% जनसंख्याको पहुँचमा इन्टरनेट

भदौ २७, काठमाडौं । पछिल्लो समय फोरजीका प्रयोगकर्ताको संख्या वृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्यांकअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ । गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् । प्राधिकरणको तथ्यांकअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ ।  सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् । टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन् । गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए । एक महीनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन् ।  एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन् । गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए । स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् । गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महीनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् । इन्टरनेट पहुँच नेपालमा १०२ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्यांकअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । उक्त तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ ।  असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६ दशमलव ०३ प्रतिशत छ । एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जानकारी दिइएको छ । फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव ६६ प्रतिशत रहेको छ । यसमा एडिएसएलका ७ लाख २८५ हजार र एफटिटिएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन् । रासस