आयोगले उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्कीद्वारा सर्वोच्चमा रिट दायर

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।  उनले निर्वाचन आयोग नेपाल कान्तिपथ काठमाडौ , मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३  र  नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्द डा. कार्कीले रिट हालेकी हुन् ।  डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई पदमा बहाल छिन् । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइएको उनको पद लाभको पद भएको आयोगले ठहर गरेको हो । उनले भने निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने बताएकी छिन्। २०७९-०५-२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि नठानेको उनले उल्लेख गरेकी छिन् ।उनले भनेकी छिन् 'समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ । '