उद्योग मन्त्रालयद्वारा अक्सिजन उद्योगको अनुगमन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौं उपत्यकाका अक्सिजन उद्योगको अनुगमन गरेको छ। कोरोनाको दोस्रो लहर फैलिएसँगै मन्त्रालयले उद्योगको स्थिति बुझ्न फिल्डमै गएर अनुगमन गरेको हो। हाल उपत्यकामा ११ वटा अक्सिजन उद्योग सञ्चालनमा छन्। यसै गरी, मन्त्रालयको टोलीले अक्सिजन सिलिन्डरको अवस्था बुझ्न बजार अनुगमन पनि गरेको छ।

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउने तयारी

वैशाख २३, काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जानकारी दिएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्काल खरीद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरीद, प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राथमिकताका साथ निरन्तर आवश्यक पहल भइरहेको बताएका छन् ।  यस्तै कोभिड–१९ संक्रमितको उपचारका लागि बङ्गलादेशबाट पाँच हजार रेम्डेसिभिरको मात्रा ल्याउने भएको छ । विज्ञप्तिमा ढाकास्थित बेक्सिमको फार्मामार्फत आइएफआइसी र नेपाल बंगलादेश बैंकले संक्रमितको उपचारार्थ पाँच हजार रेम्डेसिभिरको मात्रा ल्याउने पहल परराष्ट्र मन्त्रालयबाट गरिएको जानकारी दिइएको छ । गत मंगलवार मात्र तीन हजार मात्रा रेम्डेसिभिर नेपाल ल्याइएको थियो ।   यसैगरी प्रवक्ता आचार्यले चीन सरकारले अनुदानस्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) स्वास्थ्य सामग्री एवम् उपकरण सहायता ल्हासा आइपुगेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत प्राप्त भएको जानकारी दिए ।  महामारीका रुपमा फैलिएको संक्रमणको रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम प्रभावकारी बनाउन विषम परिस्थितिमा सबैलाई लड्न सक्ने साहस, धैर्य र आत्मबल कायम राख्न समेत आग्रह गरिएको छ । विज्ञप्तिमा अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११ दशमलव ५ लिटर खपत भइरहेको जानकारी दिइएको छ ।  नेपालमा अहिले ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेको र तिनबाट दैनिक दुई हजार ५४९ अक्सिजन सिलिण्डर भर्न सकिने जानकारी दिइएको छ । यस्तै तीन अस्पतालमा अक्सिजन भर्न सक्ने ट्यांक रहेको छ । मुलुकमा अहिले संक्रमितको उपचारका लागि ४७२ अस्पताल, १९ हजार ८८२ शय्या, एक हजार ७१४ सघन उपचार कक्ष र ६९२ भेन्टिलेटर छन् ।  सरकारले कोभिड–१९ को संक्रमण रोक्नका लागि कार्ययोजनासमेत सार्वजनिक गरेको छ । कार्ययोजनामा अस्पतालको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, सघन उपचार कक्ष, शय्या, भौगोलिक सन्तुलनका आधारमा मापदण्ड तयार गर्ने, अक्सिजन आपूर्ति गर्ने अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापना गर्ने, आवश्यकतानुसार अस्पताललाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने र अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने उल्लेख गरिएको छ । रासस