अब जलवायु जोखिमलाई समावेश गरेर बीमाशुल्क निर्धारण

काठमाडौं । अब जीवन बीमा कम्पनीहरूले जलवायु जोखिमसमेत समाविष्ट गरेर बीमाशुल्क निर्धारण गर्नुपर्ने भएको छ । बीमा समितिले सोमवार ‘जलवायु जोखिमसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विश्व बैंकसँगको विभिन्न चरणको छलफलपछि नियामक निकाय बीमा समितिले यस्तो व्यवस्था गरेको हो । नेपालमा देखिएको जलवायु परिवर्तनका कारण बीमाक्षेत्र पनि प्रभावित भएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै समितिले यस्तो व्यवस्था गरेको हो । साथै, जोखिममा आधारित पूँजी बनाउने उद्देश्यलाई सहयोग पुग्नेगरी पनि यो निर्देशिका ल्याइएको बताइएको छ । तर, यो व्यवस्था निर्देशिका लागू भएको ३ वर्षपछि कार्यान्वयन हुनेछ । समितिका अनुसार निर्देशिका लागू भएको ३ वर्षपछि कम्पनीले नयाँ बीमा योजना तयार गर्दा र त्यसको बीमाशुल्क निर्धारण गर्दा जलवायु जोखिमलाई समाविष्ट गर्नुपर्नेछ । साथै, बीमाशुल्कमा जलवायु जोखिमलाई केकसरी समाविष्ट गरेको हो, त्यो पनि स्पष्ट रूपमा खुलाउनुपर्ने छ । कम्पनीहरूले ३ वर्षयता अर्थात् तत्काल भने जलवायुसम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभावसम्बन्धी अध्ययन गरेर त्यसको प्रतिवेदन वार्षिक रूपमा समितिमा बुझाउनु पर्नेछ । ३ वर्षपछि तिनै अध्ययनहरूले देखाएको प्रभाव तथा असरका आधारमा बीमाशुल्क निर्धारण गर्नुपर्ने बताइएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले ३ वर्षपछि बीमाशुल्क निर्धारण गर्दा जलवायु जोखिमलाई समावेश गर्नुपर्ने बताए । नेपालमा जलवायु जोखिम बढ्दै गएपछि यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । ‘नेपालमा जलवायुको जोखिम बढ्दै गएको देखियो । त्यसपछि विश्व बैंकसँगको विभिन्न चरणको छलफलपछि यस्तो व्यवस्था गरेका हौं,’ उनले भने, ‘अबको ३ वर्षपछि कम्पनीहरूले सोहीअनुसार नै बीमाशुल्क निर्धारण गर्नुपर्छ । तर, जलवायु जोखिमका कारण आफ्नो व्यवसायमा पर्ने असरका विषयमा भने अध्ययन अहिलेदेखि नै गर्नुपर्ने छ । र, यसको प्रतिवेदन वार्षिक रूपमा समितिमा बुझाउनुपर्ने छ ।’ पछिल्लो समय नेपालमा जलवायु परिवर्तनका कारण बाढीपहिरोलगायत प्राकृतिक घटना बढ्दो मात्रामा हुने गरेका छन् । फलस्वरूप जलविद्युत्जस्ता भौतिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् । यस्तै, हावापानी तथा मौसमी तामक्रममा परिवर्तन आउँदा पनि कृषिक्षेत्र पनि प्रत्यक्ष रूपमा प्रभावित भएको छ । र, त्यसको असर बीमाक्षेत्रमा पनि परेको छ ।

सम्बन्धित सामग्री

बीमा समितिद्वारा 'जलवायु जोखिम सम्बन्धि निर्देशिका' जारी

बीमा समितिले 'जलवायु जोखिम सम्बन्धि निर्देशिका , २०७८' जारी गरेको छ। समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न वान्छनीय भएकोले यो निर्देशिका जारी गरेको जनाएको छ ।निर्देशिका अनुसार  बीमकले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई सो को विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ। यस्तो विवरण कुनै कारणले प्रकाशन नगरेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्ने ब्यबस्था गरिएको छ ।बीमकले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव दिनुपर्ने ब्यबस्था पनि निर्देशिकाले गरेको छ । निर्देशिका लागू भएको मितिले ३ वर्ष पूरा भएपछि बीमकले नयाँ बीमा योजना तयार गर्दा सोको बीमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ, सोसमेत स्पष्टरुपमा खुलाउनुपर्ने ब्यबस्था निर्देशिकाले गरेको छ।पुरा निर्देशिका हेर्न यहाँ क्लिक गर्नु होला ।