वित्तीय उद्धारअघि क्रेडिट स्विसबाट निक्षेपकर्ताहरूले झिकेका थिए ५५ अर्ब पाउन्ड

काठमाडौं । मार्चमा स्विस सरकारको प्रयासमा क्रेडिट स्विसको वित्तीय उद्धार हुनुअघि निक्षेपकर्ताहरूले बैंकबाट ५५ अर्ब पाउन्ड (६१ अर्ब २० करोड स्विस फ्र्याङ्क/६८ अर्ब ६० करोड डलर) बराबरको रकम फिर्ता लगेको पाइएको छ । बैंकले हालै बताएअनुसार निक्षेप फिर्ता माग्ने निक्षेपकर्ताहरूको भिडले यस वर्षको पहिलो तीन महीना सो स्तरमा रकम फिर्ता लगेका थिए । अमेरिकामा सिलिकन भ्याली बैंक (Silicon Valley Bank ) ढलेर बैंकिङ संकट उत्पन्न भएकै समयमा स्वीस बैंकमा पनि समस्या देखिएको थियो । बैंकको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले बैंकमा थप लगानी नखन्याउने भनेपछि बैंक ढल्ने अवस्थामा पुगेको थियो । बैंक टाट पल्टिनै दिन नसक्ने गरी भिमकाय भएकोले नियामक र केन्द्रीय बैंकले घरेलु प्रतिस्पर्धी बैंक यूबीएस (UBS) लाई हतारहतार क्रेडिट स्विस किन्न लगायो । बलजफ्ती गरिएको यो सम्झौता छिटै पूरा हुने अपेक्षा गरिएको  छ । मार्चको अन्त्यमा क्रेडिट स्विस सम्पत्ति व्यवस्थापन विभागले व्यवस्थापन गरिरहेको सम्पत्तिको आकार घटेर ५ खर्ब २ अर्ब ५० करोड स्वीस फ्र्याङ्कमा झरेको थियो । यो गएको वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत कम भएको क्रेडिट स्वीसले एक विज्ञप्तिमा भनेको छ । मार्चमा अमेरिकी क्षेत्रीय बैंकहरू एसभी बैंक र सिग्नेचर बैंक ढलेलगत्तै शेयर बजारमा तीव्र उतारचढाव आयो । बैंकिङ क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ताहरूको विश्वास खस्कियो । अनि क्रेडिट सुसीका ग्राहकहरूले पनि धमाधम निक्षेप फिर्ता गर्न थाले । स्विस अधिकारीले वित्तीय ग्यारेन्टी नै दिएर बैंक किनाए । क्रेडिट स्विस लामो समय समयदेखि घाटामा चलिरहेको थियो । हालैका वर्षमा सम्पत्ति शुद्धीकरण समेतका कयौं कान्डहरूमा फसेको थियो । सन् २०२२ मा मात्रै बैंकले ७ अर्ब ३० करोड स्वीस फ्र्याङ घाटा बेहोरेको थियो । स्वीस नियामकहरूले क्रेडिट स्वीसको मूल्यांकन ३ अर्ब ५ करोड डलर राखेर यूबीएसलाई बेचेका थिए । शुक्रबारसम्ममा यसको मूल्य बढेर ८ अर्ब डलर आसपास पुगेको छ । एजेन्सी