भारतीय दूतावासले मनायो ७३औं गणतन्त्र दिवस

काठमाडौं (अस) । काठमाडौंस्थित भारतीय राजदूतावासमा बुधवार भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा उत्तोलन गरेर कार्यक्रम शुरू गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रूपमा यो कार्यक्रमको आयोजना गरिएको दूतावासले बताएको छ । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महीनासम्म विभिन्न कार्यक्रमको आयोजना गरिने उल्लेख छ । नेपालभरका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ ओटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्ने बताएको छ । कार्यक्रम दूतावासका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।