भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते

चितवन । भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ ६ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ ।  महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरू, दलका प्रमुखहरू, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उनका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको र्‍याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ । विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने मेयर दाहालले बताइन् । उनले भनिन्, ‘भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौं । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ ।’  कार्यक्रमको घोषणापूर्व र उद्घाटन सत्रपछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो ।  भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ । समितिको शनिवार बैठक बसेको थियो । प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य छन् ।  भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदैछ । महानगरका उपप्रमुख अधिकारीका अनुसार रु ६ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।   यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उनले बताए । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ ।  महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टले विशेष छूटमा प्याकेज दिँदैछन् ।  प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको छ ।  भ्रमण वर्षलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नेगरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५० भन्दाबढी स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका कार्यक्रम गरिँदै छन् । ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदैछ । भ्रमण वर्षको उद्घाटनपछि लगत्तै दियालो बङ्गला सञ्चालनमा ल्याइनेछ । त्यहाँ पुनःनिर्माणको काम भइरहेको उनले बताइन् ।     यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ । भ्रमण वर्षको उद्घाटनअघि नै बाघ राखिनेछ । महानगरको देवनगरमा बाघसँगै सोही क्षेत्रमा गैंडा राख्नका लागि खोर बन्दैछ । दाहालले भनिन्, ‘अब यहाँ आउने पर्यटकले निकुञ्जमा बाघ, गैंडा नहेरी फर्कनु पर्दैन ।’  महानगरपालिकाले गैंडाको खोर, मचान र त्यहाँ पुग्ने ठाउँसम्मका लागि बाटो निर्माण गर्न रु एक करोड खर्च गरेको छ । बाघको खोर निकुञ्ज आफैले बनाएको हो । भ्रमण वर्षका अवसरमा विश्वका विभिन्न देशमा बस्ने भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउनका लागि निम्तो दिइएको छ ।  प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो ।  उनले थपिन्, ‘भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरूपमा लाग्नुपर्छ ।’ सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उनको अपेक्षा छ । देशमै स्थानीयस्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ ।  भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा. विश्व सुवेदीले भ्रमण वर्षले सिथिल भएको समग्र अर्थतन्त्र चलायमान हुने बताए । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्या–पर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्त्वपूर्ण छ ।  सुवेदीले भने, ‘सरकारी तवरबाट यो ढङ्गले पर्यटन प्रवर्द्धनका लागि गरिएको यो प्रयास निजी क्षेत्रका लागि कोसेढुङ्गा हुनेछ ।’ उनका अनुसार भरतपुर महानगरभित्र अन्तरराष्ट्रियस्तरको रङ्गशाला र सिटीहल बन्दैछ । प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ । राजधानी नजिक रहेको यो महानगर आर्थिक नगरीका रुपमा विकास हुँदै गएको छ । यस्ता कार्यक्रमले यहाँको पर्या–पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन : भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ। भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन्।जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन्। प्रधानमन्त्री कपमा भाग लिन बागमती प्रदेशस्तरीय महिला छनोट प

भरतपुर भ्रमण वर्ष २०२४ : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

मुग्लिन (चितवन), २० फागुन । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ । आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । आदिवासी […]

भरतपुर भ्रमण वर्ष प्रवर्द्धन गर्न पर्यटन बोर्डले ७० लाख खर्चने

भरतपुर, फागुन १०। नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले रु ७० लाख बेहोर्ने छ […]

भरतपुर भ्रमण वर्ष सञ्चालनका लागि महानगर र पर्यटन बोर्डबीच सम्झौता

भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भ्रमण वर्षलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल तीन करोड सत्तरी लाख रुपैयाँ खर्चमध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौतामा […]

भरतपुर भ्रमण वर्षको तयारी तीव्र, मुख्य गन्तव्य निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ का लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षका लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारी...

पूर्वाधारको अस्तव्यस्तताले रोकियो भरतपुर भ्रमण वर्ष, अब कहिले हुन्छ ?

काठमाडाैँ : भरतपुर र आसपास क्षेत्रमा भौतिक पूर्वाधार निर्माण नसकिँदा 'भरतपुर भ्रमण वर्ष-२०२४' का कार्यक्रम तत्कालका लागि स्थगन गरिएको छ।अहिले भरतपुर छिर्ने नाकाहरूमा सडक निर्माणको अस्तव्यस्तता छ। भरतपुरको मुख्य सहरी क्षेत्र चौबिसकोठी-पुलचोक सडक खण्डको निर्माण कार्य नसकिएको, नारायणगढ-बुटवल सडक खण्ड, मुग्लिन-पोखरा सडक निर्माणाधीन रहेको, मुग्लिन-नारायणगढ सडक दैनिक केही घण्टा बन्द गरेर पुल निर्माणको काम गर्न लागिएकाले भ्रमण वर्षको शुभारम्भ सन् २०२४ भित्रै गर्ने गरी २२ गते निर्णय हुने जनाइएको

नारायणी किनारबाट भरतपुर भ्रमण वर्ष शुभारम्भ हुने

चितवन– चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०२४ जनवरी १ तारिखमा नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो सङ्ख्यामा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदै छ । महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा विश्व सुवेदीका […]

चीनको सिआनबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई आयो उपकरण

चितवन ।  भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै साईडबोट उपकरण उपलब्ध भएको छ । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएको हो । साईडबोट भनेको एआई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु […]

‘भरतपुर भ्रमण वर्ष २०८०’ को तयारी शुरू

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०८०’ लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल गरी तयारी शुरू गरेको छ । महानगरपालिकाभित्रका ३० ओटा गन्तव्यको प्रचारप्रसार गरी महानगरले पर्यटन प्रवर्द्धन गर्न लागेको हो । छलफलमा सहभागीहरूले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने, रात्रिकालीन पर्यटनलाई प्राथमिकता दिनुपर्ने र बसाइ अवधि लम्ब्याउने प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पर्यटन प्रवर्द्धन गर्न प्रचारप्रसार अपरिहार्य रहेको भन्दै डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र अनलाइन मिडियामा केन्द्रित रहनुपर्ने बताएका थिए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले हाल देशको अर्थतन्त्र धराशयी भएको अवस्थामा यसलाई सुधार गर्न अपरिहार्य रहेको बताए । भरतपुरमा पर्यटन पूर्वाधारका काम ७० प्रतिशतभन्दा बढी पूरा भइसकेकाले यसको प्रवर्द्धनमा निजीक्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । ‘भरतपुर पर्यटन प्रवर्द्धनको पूर्वाधारका लागि सेवा दिन सक्षम छ,’ उनले भने, ‘हामी पनि सक्षम छौं, तर यसको प्रवर्द्धनका लागि सरकारी निकाय भूमिका महत्त्वपूर्ण हुन्छ ।’ जिल्लाको होटल व्यवसाय चलायमान बनाउन भ्रमण वर्षमा पर्यटक लक्षित कार्यक्रम ल्याइनुपर्नेमा उनको जोड थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय क्षेत्रको वर्गीकरण गरी निजीक्षेत्रसँग सहकार्य गरी महानगरले कार्यक्रम बनाउनुपर्ने बताए । पर्यटकका लागि सुरक्षा, यातायातको व्यवस्था सहज गर्दै पर्यटकीय गन्तव्यलाई सौन्दर्यकरणमा जोड दिन सुझाव दिए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले अन्तरराष्ट्रिय एक्स्पो लगायतका कार्यक्रमले चितवनको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याएको भन्दै उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्यासँगै बसाइ अवधि लम्ब्याउने कार्यक्रम ल्याउनुपर्दछ,’ न्यौपानेले भने, ‘लिंक र कनेक्टिभिटी बनाई यातायात र गन्तव्यको कार्यतालिका बनाइनुपर्छ ।’ भरतपुर महानगरका पर्यटन विज्ञ डा. विश्व सुवेदीले शिथिल भएको पर्यटन क्षेत्र उकास्न आन्तरिक तथा बाह्य पर्यटन आगमनमा जोड दिनुपर्ने बताए । भरतपुरका ३० ओटा पर्यटकीय गन्तव्यलाई चिनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं ‘भरतपुर भ्रमण वर्ष २०८०’ को कार्यकारी समितिका संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार थप सक्रिय रहने बताए ।  पर्यटन क्षेत्र अन्य क्षेत्रको समेत परिपूरक रहेको भन्दै उनले पर्यटनको विकासविना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए ।