सोमानीसँगको सहकार्यमा सेरामिक्स टायल उद्योग खोल्दै मुरारका समूह

काठमाडौं  । मुरारका समूहले नेपालमा सेरामिक्स टायल उद्योग खोल्ने भएको छ । समूहले अन्तरराष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा भैरहवामा उक्त उद्योग स्थापना गर्ने भएको हो । यससम्बन्धी सम्झौतामा दुई पक्षबीच सोमवार हस्ताक्षर भएको छ । सम्झौताअनुसार पहिलो चरणमा रू. २ अर्ब लगानीमा उद्योग स्थापना हुनेछ । उद्योगबाट वार्षिक करीब ३ मिलियन स्क्वायर मिटर क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्नेगरी सहकार्य हुने भएको हो । यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत धान्न सक्ने मुरारका समूहका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । ‘बजारमा उत्साह नभएको अवस्थामा यो सहकार्य गरेका छौं,’ उनले भने । यसैगरी विश्वभर उत्पादन पुर्‍याइरहेको र नेपालमा हुने उत्पादनबाट आफूहरू अझै उत्साहित रहेको सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले बताए । ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त गुणस्तरीय टायल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ,’ उनले भने, ‘यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउनेमा विश्वस्त छौं ।’