मोदी इनर्जी, सोनापुर मिनरल्स र मेन्छियाम हाइड्रोले मागे आईपिओ निष्काशन अनुमति

थप  ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड र मेन्छियाम हाइड्रोपावर पावरले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आसोज ४ गते बोर्डमा आवेदन दिएको हो । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । त्यस्तै मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले साउन १८ गते नै बोर्डमा आवेदन दिएको भए पनि असोज ९ गते विद्युत नियमन आयोगबाट स्वीकृति लिएको हो । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आइपिओ निष्काशन गर्ने छन् ।