प्रधानमन्त्रीको कदमले सहिदको रगतको अवमूल्यन गर्‍याे : भट्ट

धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सहिदहरुको रगतको अवमूल्यन गरेको बताउनुभएको छ । विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै राजमो कैलालीले सोमबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टले अप्रधानमन्त्री ओलीको कदम अप्रजातान्त्रिक र असंवैधानिक भएको बताउनुभयो । संसद विघटन गरि वैशाख १७ र २७ गते निर्वाचनको मिति तोक्नु गलत भएको भन्दै उहाँले प्रधानमन्त्रीले संसद विघटन गर्नै नसक्ने जिकीर गर्नुभयो । उहाँले राजमो मात्र नभएर २०६२–२०६३ को जनआन्दोलनमा सहभागि भएका सम्पूर्ण शक्ति पनि अहिले प्रधानमन्त्री ओलीले चालेको कदमका विरुद्धमा भएको भन्दै अहिले सम्पूर्ण जनता एकजुट भएर आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नेता भट्टले २०६२–६३ मा सामेल लाखौं लाख जनताको चाहना विरुद्ध प्रधानमन्त्री ओलीले कदम चालेको आरोप लगाउनु भयो । उहाँले अहिलेको संविधानमा बहुमत प्राप्त कसैले पनि संसद भंग गर्ने व्यवस्था नरहेको स्पष्ट गर्नुभयो । राजमो कैलालीले ‘संसद विघटनको विरोध गरौं, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने नारासहित धनगढीको पार्क मोडमा विरोधसभा सम्पन्न गरेको हो । कार्यक्रमलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव खड्क राना, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही, अखिल (छैठौं) का हेमराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राजमो जिल्ला सचिवालय सदस्य डबल बोगटीको सञ्चालन तथा जिल्ला सचिव जगत जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन गर्दै आएको छ । संसद विघटन भएदेखि नै संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा समेत गरेको छ ।