प्रधानमन्त्री ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रर्दशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन गरिएको छ । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न जान लागेको ओलीको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो । ओलीले सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा ओली समूह प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामञ्चमा हुने सभालाई सम्बोधन गर्न उनी त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा कडा पारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । कार्यक्रमस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रममा कालो मास्क लगाएर उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।