काठमाडौं । नेपाल उद्योग परिसंघ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधमण्डलले शुक्रवार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, ऊर्जालगायत विषयमा छलफल गरेको हो ।
परिसंघका अध्यक्ष अग्रवालले जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरे । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरीद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्ण रूपमा खुलाइनुपर्नेमा उनले जोड दिए ।
यसैगरी नेपाल विद्युत् प्राधिकरणको पुन:संरचना, प्रसारणलाइन निर्माण तथा विद्युत् व्यापारमा निजीक्षेत्रको संलग्नता गराउन उनले आग्रह गरे । विद्युत् निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगले सहज रूपमा विद्युत् नपाइरहेको उनले बताए । यसले उद्योगहरूको उत्पादन लागत बढाएको उनको भनाइ छ । मन्दीमा रहेको अर्थतन्त्र उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिए ।
सो अवसरमा मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।