काठमाडौं । सरकारले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै मदिरा आयात एक्कासि बढेको छ । प्रतिबन्ध खुलेपछिका ४ महीनामा ४ लाख ६८ हजार ६ सय २६ लिटर मदिरा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । उक्त परिमाणमा मदिरा आयात गर्दा ७९ करोड १७ लाख रुपैयाँ बाहिरिएको छ ।
सरकारले गतवर्ष वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको हो । विदेशी मुद्रा सञ्चिति बढ्दै गएपछि गत पुसबाट आयात प्रतिबन्ध हटाइएको छ ।
प्रतिबन्ध हटेपछि पुसमा ८ करोड ३२ लाख रुपैयाँको ४० हजार ३ सय ४३ लिटर मदिरा आयात भएको छ । त्यसैगरी माघमा २८ करोड ४६ लाख रुपैयाँको १ करोड २१ लाख ९ सय ८० लिटर, फागुनमा १४ करोड २३ लाख रुपैयाँको ८५ लाख १ सय ५९ लिटर र चैतमा २८ करोड १६ लाख रुपैयाँको २ करोड २१ लाख १ सय ४३ लिटर मदिरा आयात भएको देखिन्छ ।
देशभित्रै पर्याप्त मात्रामा मदिरा उत्पादन भइरहेका बेला विदेशबाट छोटो समयमा ठूलो परिमाणमा आयात भएको घटनाले धेरैलाई चकित बनाएको छ । साथै स्वदेशी मदिरा छोडेर नेपालीहरू किन यति धेरै मात्रामा विदेशी प्रयोग गर्छन् त भन्ने प्रश्न पनि उठेको छ ।
स्वदेशी र विदेशी मदिराको मूल्यमा खासै फरक नहुँदा ग्राहकको प्राथमिकतामा विदेशी परेको हुनसक्ने स्वदेशी भोड्का ब्रान्ड ८८४८ का उत्पादक रवि केसी बताँउछन् । ‘नेपालमा मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न कानूनी उल्झनका कारण गाह्रो छ । त्यसमाथि सरकारले यसमा लाग्ने अन्तः शुल्कको दर बढाएको छ । यस्तोमा स्वदेशी र विदेशी मदिराको मूल्य उस्ता उस्तै पर्न जान्छ,’ उनले भने ।
मदिरा व्यवसायी केसीका अनुसार अहिले बढी परिमाणमा मदिरा आयात हुनुको कारण धेरै समयदेखि लागेको प्रतिबन्ध पनि हो । फेरि प्रतिबन्ध लाग्न सक्छ भन्ने संशयका कारण आयातकर्ताले व्यापक मात्रामा स्टक गरेको हुन सक्ने उनको भनाइ छ । तर, सरकारी अधिकारीहरू विदेशी मदिराको आयात बढ्नुमा गुणस्तर र ब्रान्डको महत्वपूर्ण भूमिका हुने बताउँछन् । स्वदेशी मदिराले गुणस्तरमा विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्दा र ब्रान्ड पनि त्यो किसिमले स्थापित नभएको नहुँदा विदेशी मदिराको बजार बढ्ने अधिकारीहरूको तर्क छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्त उर्मिला केसी मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा कानूनी जटिलता रहेको विषयमा व्यवसायीले मन्त्रालयसँग छलफल नगरेको बताउँछिन् । ‘उद्योगी, व्यवसायीहरूले आपूmलाई परेका समस्याबारे मन्त्रालयमा निवेदन दिनुपर्यो । के कारणले समस्या परेको हो, सरकारबाट अपेक्षा के छ र समाधान कसरी हुनसक्छ भन्ने कुरा पनि उद्योगीहरूले खुलाउनुपर्यो,’ सहप्रवक्ता केसीले भनिन्, ‘उद्योगीहरूले आप्mना कुरा स्पष्ट रूपमा राखेपछि मन्त्रालयले त्यस विषयमा गहन तरीकाले विचार गर्छ । प्रतिस्पर्धी क्षमता बढाउन सम्भव सबै सहयोग पनि गर्छ ।’ कच्चा पदार्थ र मदिराको उत्पादन तथा बजार विस्तारका लागि अन्ततः उद्योगीहरूले नै बढी मेहनत गर्नुपर्ने सहप्रवक्ता केसीको भनाइ छ ।