तराईको दुर्गम गाउँ ‘गङ्गटे’ : चुनाव जितेको नेता फर्केर आउँदा मात्रै पनि स्थानीय दङ्ग

दाङ । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिनमात्रै बल्यो, त्यसपछि विद्युत् बलेन । अहिले सबैका घर अगाडि विद्युत्का पोल र तार टाँगिए भएपनि विद्युत् भने पुगेको छैन । सडक सञ्जालको अवस्था पनि निकै नाजुक छ । आधा घन्टामा पुग्नुपर्ने ठाउँमा साढे दुई घन्टा लाग्ने गर्छ  । यतिमात्रै होइन, वर्षात्मा कोही बिरामी परे चार घन्टा किउरेनीबाट पैदल हिँडेर कि त हापुरे पुग्नुपर्छ, कि त कोहलपुर जानलाई शम्शेरगञ्ज जानुपर्छ । बीचमा राष्ट्रिय निकुञ्ज पनि पर्ने गर्छ । जङ्गली जनावरको उत्तिकै डर हुन्छ । कोहीको अकालमै मृत्यु हुने अवस्था रहेको स्थानीय अगुवा गम्मरचन रोकाले बताए । “बर्सेनि चार–पाँच जनाको उपचार नपाएरै मृत्यु हुन्छ”, उनले भने । दश वर्षअघि त्यहाँ ट्रयाक खोलिएको हो । गङ्गटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । “यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, उनले भने, “यहाँ क्याम्पस नहुँदा धेरैजना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन् ।” त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउनका लागि पटक–पटक गङ्गटेवासीले माग गरे । तर ती माग सम्बोधन हुन सकेनन् । गङ्गटेमा फोन सुविधा पनि प्रभावकारी छैन । गङ्गटेको तीनतलेमा टावर बनेको छ, त्यसले केही राहत दिए पनि केही ठाउँमा भने अझै पनि गाउँमै पुग्नुपर्छ ।  स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ । त्यो स्वास्थ्यचौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूला–ठूला उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ । गङ्गटे विकट क्षेत्रमा भएपनि सडक पुगेको खण्डमा ठाउँ भने रमणीय छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । त्यहाँ मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ । बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्, वनजङ्गल पनि भएकाले दाउराको पनि समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुख सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ती त्यसै कुहिएर नष्ट हुने गरेका छन् । त्यहाँ पाँच हजारभन्दा बढी जनसङ्ख्या छ । तर अधिकांश व्यक्ति सुकुम्वासी छन्, ३८ बिघा क्षेत्रफलमात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ ।    मन्त्री मास्कीको पहिलो कार्यक्रम गङ्गटेमा  जनताका यी समस्या सम्बोधन गर्न लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री धनबहादुर मास्की (राजेश) ले आफ्नो पहिलो कार्यक्रम गङ्गटेबाट शुभारम्भ गरे । सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित उनले आफ्नो क्षेत्रको विकट क्षेत्र ‘गङ्गटे’ भएकाले यहाँको विकासका लागि पहिलो कार्यक्रम नै गङ्गटे गरेको बताए । उनकै पहलमा शनिवार विशेषज्ञ स्वास्थ्य शिविर भएको थियो । त्यो शिविरबाट करीब ४०० जनाले विशेषज्ञ स्वास्थ्य शिविरबाट सेवा लिए । यसअघि निर्वाचन जितेपछि नेताहरू देखासमेत नपर्ने गरेको त्यहाँका बासिन्दाको गुनासो थियो । तर मास्की चुनाव जितेपछि गङ्गटे पुगेको यो तेस्रोपटक हो । “मेरो पहिलो प्राथमिकता नै गङ्गटे छ”, उनले भने, “जसरी पनि गङ्गटेको जीवनस्तर उकास्न म दत्तचित्त भएर लाग्छु, यही बीचमा तीनपटक म गङ्गटे पुगिसकेको छु ।” गङ्गटेका जनताले विशेषज्ञ स्वास्थ्य सेवा नपाएको भन्दै आफ्नो पहलमा त्यहाँ स्वास्थ्य शिविर भएको बताए । त्यहाँका सबै समस्यामा आफू जानकार रहेको भन्दै समाधान गर्नतर्फ उन्मुख भएको समेत उनको भनाइ छ ।  उनका अनुसार हापुरेबाट गङ्गटे पुग्ने सडकको स्तरोन्नतिको काम भइरहेको छ । यसमा पाँच किलोमिटर सडक कालोपत्र हुँदैछ भने बाँकी १७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ ।  यस वर्षभित्र जनताका घर–घरमा विद्युत् बाल्न पाउने गरी तयारी गरेको बताए । त्यसका लागि विद्युत् प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइसकेको मन्त्री मास्कीको भनाइ छ । त्यस्तै आफ्नो निर्वाचन क्षेत्रका विकट क्षेत्रमा टेलिकमको टावर निर्माणको प्रक्रिया पनि अघि बढाइसकेको उनले बताए । पश्चिममा चारओटा टेलिकम टावरका लागि केहीमा निर्माणको प्रक्रिया अघि बढेका छन् भने केही स्थानमा सर्भेको काम अघि बढेको उनले बताए । त्यस्तै खानेपानी, शिक्षालगायत समस्या पनि छिट्टै समाधान हुने उनको विश्वास छ । –रासस