कोटेश्वर–जडीबुटी सडकमा २ लेन थपिँदै

काठमाडौं (अस) । काठमाडौंको कोटेश्वर चोकमा हुने ट्राफिक जाम व्यवस्थापन गर्न विभिन्न विकल्पहरूको अध्ययन तथा छलफलका बीच दाँयाबाँया २ लेनको सडक थपिने भएको छ । तीनकुने–कोटेश्वर–जडीबुटीसम्म नै हुने ट्राफिक जाम न्यूनीकरण गर्न कोटेश्वर चोकमा फ्लाईओभर, अण्डरपास वे र सुरुङमार्ग जस्ता विकल्पमा अध्ययन भएका छन् । ती अध्ययनबाट तत्काल कुन संरचना वा कुन विकल्पको संरचना निर्माण गर्ने भन्ने विषय एकिन हुन समय लाग्ने देखिएपछि सडक विभागले जडीबुटी–चोकदेखि कोटेश्वर चोक हुँदै चक्रपथसम्म जोड्ने गरी १ लेन सडक विस्तार गर्दै छ । साथै तीनकुने तर्फबाट कोटेश्वर–जडीबुटी सडक खण्डसम्म पुग्नेगरी बाँयातर्फबाट पनि १ लेनको सडक विस्तार गरिनेछ । यसमध्ये पहिलो चरणमा दाँयातर्फ १ लेनको सडक विस्तार भने जारी छ । विभागले पहिलो चरणमा विस्तार गर्दै आएको कोटेश्वर–जडीबुटी चोकसम्मको दाँयातर्फको थप १ लेनको सडक करीब ३ महीनामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले कोटेश्वर चोकदेखि जडीबुटीसम्म १/१ लेनको सडक निर्माण गरिने जानकारी दिए । अहिले जडीबुटी चोकदेखि चक्रपथतिर आउने सवारीसाधनका लागि १ लेन थपिएको छ । यद्यपि जडीबुटी चोकमा एउटा घर अधिग्रहण र केही पसल व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन समस्या भएको उनको भनाइ छ । उक्त चोकमा रहेका पसलहरूलाई मिलाएर पर्खाल लगाउने कार्यमा समन्वय भएमा उक्त लेन सञ्चालन गर्न सकिन्छ । ‘जडीबुटी चोकमा पर्ने सो घर अधिग्रहण गरी पहिला नै मुआब्जा दिएको भन्ने छ,’ नेपालले भने, ‘तर, उक्त विषयका कागजात नभेटिँदा पुष्टि हुन सकेको छैन, अधिग्रहणको समस्या सल्टिएमा ३ महीनाभित्र उक्त लेनमा यातायात सञ्चालन गर्न सकिनेछ ।’ गत असारमै लेन सम्पन्न गर्नेगरी सडक विभागले फागुनदेखि यो लेन निर्माण शुरू गरेको थियो । त्यसपछि कोभिडको समस्या, मुआब्जा जस्तो समस्याले गर्दा पूरा हुन भने सकेको छैन । कोटेश्वरचोकमा अत्यधिक सवारीसाधनको चाप हुँदा घण्टौं ट्राफिक जाम हुँदै आएको छ ।