उचित हेरचाहले मात्रै गर्न सकिन्छ ग्रिन प्लान्टको व्यवस्थापन

काठमाडौं । घरलाई आकर्षक देखाउन विभिन्न सामग्री प्रयोग गरिन्छ । यिनै सामग्रीको उचित सजावट र संयोजनले घरलाई सुन्दर बनाउँछ । आर्किटेक्ट डिजाइन, इन्टेरियर डिजाइन, अनुभवी कामदार, गुणस्तर सामग्री, खुला ठाउँ, हरियाली बगैंचा, पर्याप्त पार्किङ आदि सबै घरका सौन्दर्य र शोभा हुन् । घरभित्र र बाहिर राखिने हरियालीयुक्त रुख–बिरुवा जसलाई ग्रिन वा हाउस प्लान्ट भन्ने गरिन्छ । यसलाई इन्डोर र आउटडोर प्लान्टको नामले पनि चिनिन्छ । यसको उपस्थितिले घरलाई आकर्षक, सुन्दर, रमणीय र अक्सिजनमय बनाउनमा ठूलो भूमिका खेलेको हुन्छ । हरियाली रुख–बिरुवाको आकर्षक सजावटले घरलाई सुन्दर मात्र बनाउने होइन, यसले स्वस्थ हावाको पूर्ति गर्छ । हाउस प्लान्ट अन्य रुख–बिरुवाजस्तो ठूला र धेरै जमिन चाहिने स्वभावको हुँदैन । यो अरू फूलजस्तो सिजनएवल पनि हुँदैन । यो लामो समयसम्म बाँच्न सक्छ । गमला घरका फाउन्डर÷अध्यक्ष दीपेन्द्र तुलाधरका अनुसार यी प्लान्टको आयु ५ देखि २० वर्षसम्मको हुन्छ । फूल फुल्ने प्लान्ट पनि अरूजस्तो एकपटक फुलेर मर्ने स्वभावको हुँदैन । त्यसैले हाउस प्लान्टलाई एउटा स–साना भाँडामा घरका विभिन्न कोठा, प्यासेज, बरन्डा, किचन, डाइनिङ रुम, डोरीमा झुन्ड्याएर राख्न सकिन्छ । यसले घरमा हरियाली वातावरण र सुन्दर दृश्यावलोकनका लागि जोकसैलाई मोहित पार्न सक्छ । यही विशेषताका कारण अचेल प्रायः सबैले घरमा हाउस प्लान्ट राख्ने चलन र सोखमा वृद्धि हुँदै गइरहेको छ । पसलमा गएर आफूलाई मन पर्ने प्लान्ट खरिद गर्न सक्छौं र घरमा उपयुक्त ठाउँमा सजाएर राख्छौं । तर, त्यसको सुरक्षा र संरक्षणको विषयमा ध्यान दिएका हुँदैनौं । प्लान्टको उचित हेरचाहले स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । सामान्यतया इन्डोर प्लान्टमा तीन प्रकारका मल प्रयोग गर्न सकिन्छ । झोल मल, एनपिके (नाइट्रोजन, फोस्फोरस र पोटासियम) र जैविक (अर्गानिक) मल प्रमुख हुन् । बिरुवा स्वस्थ रहन, हुर्कन, फूल तथा दाना आदि वृद्धिका लागि पौस्टिक तत्वको आवश्यकता पर्दछ । यसका लागि बिरुवालाई आवश्यकताअनुसार समय–समयमा मलजल, गोडमेल, हेरचाह गर्नुपर्दछ । झोल मल र दानादार मल बजारबाट खरिद गर्नुपर्छ । यी मल प्रयोगले बिरुवालाई आवश्यक पोषक पूर्ति गर्छ । जस्तै, नाइट्रोजनले बिरुवालाई हरियो बनाइराख्न सहयोग गर्छ । त्यसैगरी फस्फोरसले जरालाई वृद्धि गर्न सहयोग पुग्छ भने पोटासियमले बिरुवामा फूल, दानाको विकासमा सहयोग गर्दछ । इन्डोर प्लान्टका लागि आवश्यक मल घरमै पनि बनाउन सकिन्छ । घरबाट निस्कने फोहोरजन्य वस्तु जस्तै, चिया दाना, अन्डाको खोस्टा, पिनाको धुलो, हड्डीको धुलो आदि मलको रूपमा प्रयोग गर्न सकिन्छ । प्लान्ट रोप्दा सफा माटोमा कोकोपिट (नरिवलको धुलो), कम्पोस्ट मल मिलाउनुपर्दछ । त्यसपछि प्रत्येक २ वर्षमा कम्पोस्ट मल प्रयोग गर्नुपर्दछ । प्लान्टको प्रकृतिअनुसार सातामा दुई पटक र तीन सातामा एकपटकसम्म पानी हाल्ने गर्नुपर्दछ । मल पनि आवश्यकताअनुसार प्रयोग गर्नुपर्दछ । जस्तो, कुनै प्लान्ट ढिलो वृद्धि हुने प्रकृतिका हुन्छन् भने कुनै छिटो वृद्धि हुने हुन्छन् । छिटो वृद्धि हुने प्लान्टलाई धेरै पोषक तत्व आवश्यकता पर्दछ भने ढिलो वृद्धि हुने प्लान्टलाई कम । विशेषगरी प्लान्ट वृद्धि हुने गर्मीयाम (समर सिजन) हो । त्यो समय बढी पोषक तत्वको आवश्यकता पर्ने भएकाले बढी मल दिनु जरुरी पर्छ । त्यसैगरी फूल फुल्ने समय पनि बढी मल जरुरी हुन्छ । कुन प्लान्टमा कति पानी हाल्ने भन्ने जानकारी नहुने भएकाले प्लान्ट किन्दा यसबारे सोधीखोजी भने गर्नुपर्छ । इन्डोर प्लान्ट र आउटडोर प्लान्टका लागि आवश्यकताअनुसार विभिन्न माटोका गमला, म्याक्रेम, पीभीसी गमला, सेरामिक्स, प्लास्टिकका भाँडा प्रयोग गर्न सकिन्छ । साधरणतया इन्डोर प्लान्टका लागि सेरामिक्स गमला प्रयोग गरिन्छ । आउटडोर प्लान्टका लागि माटोका गमला प्रयोग गरिन्छ । झुन्ड्याउन प्रयोग गरिने प्लान्टमा भने प्लास्टिक वा अन्य विभिन्न भाँडा प्रयोग गर्न सकिन्छ । प्लान्टलाई समय–समयमा सरसफाइ, गोडमेल, काँटछाँट गरिरहनुपर्दछ । यसका लागि कैंची, भ्यासल, स्प्रे बोतल, चक्कु, कुटो आदि औजार प्रयोग गर्न सकिन्छ । प्लान्टको संरक्षण र वृद्धिका लागि उचित हेरचाह र आवश्यक मलजलमा विशेष ध्यान दिनु आवश्यक छ ।