पुनर्बीमा निर्देशन विवाद : विशेष कार्यदल बनाउने तयारीमा बीमा समिति

काठमाडौं । स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ । गत मङ्सिर ९ गते बीमा समितिले निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । स्वदेशी कम्पनीले पुनर्बीमा लिन नमानेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन थियो । समितिको उक्त निर्देशन जारी भएपछि बीमा कम्पनी तथा सरोकारवालाहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् । साथै, तत्काल उक्त निर्देशन फिर्ता लिनुपर्ने पनि माग गर्दै आएका छन् । यसरी समितिको निर्देशनको विषयमा चौतर्फी विरोध भएपछि बीमा समितिले त्यस सम्बन्धमा विशेष कार्यदल बनाउन लागेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमा निर्देशन विवादलाई समाधन गर्न विशेष कार्यदल बनाउने तयारी गरिएको बताए । ‘यसै साता उक्त कार्यदल गठन हुन्छ । त्यसपछि यससम्बन्धी विवादलाई सोही कार्यदलमार्फत नै समाधान गर्नेछाैं,’ उनले भने, ‘अब यस सम्बन्धमा विरोध गर्दै आएका सरोकारवालाहरूले त्यही आएर आफ्नो राय राख्नुपर्छ । कार्यदलले गर्ने अध्ययन र त्यहाँ आउने सुझावको आधारमा यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछौं ।’ यस सम्बन्धमा सरोकारवालाहरूलाई छिट्टै छलफलका लागि बोलाउने उनको भनाइ छ । यता निर्देशन जारी भएको झन्डै २ हप्तापछि जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले त्यसको विरुद्धमा समितिमा ज्ञापनपत्र बुझाएका छन् । दुवै संघले बुधवार बीमा समितिमा ज्ञापनपत्र बुझाएका हुन् । समितिका कार्यकारी निर्देशक पौडेलले दुवै बीमक संघबाट ज्ञापनपत्र प्राप्त भएको बताए । समितिको उक्त निर्देशन बीमाको सिद्धान्तविपरीत र अव्यावहारिक भएको भन्दै संघहरूले निर्देशन फिर्ता लिन माग पनि गरेका छन् । नेपालका पुनर्बीमा कम्पनीहरूको शतप्रतिशत पुनर्बीमा लिन सक्ने क्षमता नभएको अवस्थामा यस निर्देशनले थप समस्या ल्याउन सक्ने उनीहरूको भनाइ छ । स्वदेशी पुनर्बीमा कम्पनीमा नै पुनर्बीमा गर्दा निकट भविष्यमा हुने भवितव्य घटनामा दाबी भुक्तानी नै दिन नसक्ने अवस्था आउने बताइएको छ । तसर्थ, कुनै पनि हालतमा समितिले उक्त निर्देशन फिर्ता लिनुपर्ने बताइएको छ । समितिको निर्देशनले बीमा कम्पनीहरूको व्यावसायिक स्वतन्त्रता पनि खोसिएको बताइएको छ । बीमा कम्पनीहरूले स्वतन्त्र भएर व्यावसायिक गतिविधि गर्न पाउनुपर्ने संघहरूको भनाइ छ । समितिले ज्ञापनपत्रको विषयमा पनि अब बन्ने कार्यदलमा नै छलफल गर्नेछ । समितिका कार्यकारी निर्देशक पौडेलले दुई संघबाट प्राप्त ज्ञापनपत्रको विषयमा पनि कार्यदलमा नै छलफल हुने बताए । ‘अब सरोकारवालाहरूले बाहिर बाहिर टीकाटिप्पणी गर्न भन्दा पनि कार्यदलमा नै आएर आप्mनो राय राख्नुहोस् । त्यसपछि हामीलाई पनि थप निर्णय गर्न सहज हुन्छ,’ उनले भने ।