काठमाडौं (अस) । आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) कारोबारको समय सीमा बुधवारदेखि साताका सबै कारोबार दिनमा सञ्चालन हुने भएको छ । यसअघि कोभिडका कारण निषेधाज्ञाभर बैंक तथा वित्तीय संस्थाले २ बजेसम्म यस्तो सेवा दिँदै आएका थिए । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले मंगलवार एक सूचना जारी गर्दै असार १६ गतेदेखि दिनभर आरटीजीएस कारोबार कायम रहने बताएको हो ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका अनुसार असार मसान्त नजिकिएसँगै कारोबार धेरै हुने भएकाले भुक्तानी पेन्डिङमा हुन नदिन र तत्कालै राफसाफका लागि समय थपिएको हो । सरकारको भुक्तानी महीनाको अन्तिममा अधिक हुने गरेकाले समय नपुगेको गुनासो आएकाले पनि साताका सबै कारोबार दिनमा आरटीजीएस सञ्चालन गर्न लागेको केन्द्रीय बैंकको भनाइ छ । यो सुविधाले आरटीजीएसमार्फत भुक्तानी गर्ने आम ग्राहक र इन्टरबैंकिङ कारोबारलाई समेट्छ । आरटीजीएसमार्फत न्यूनतम रू. २ लाखभन्दा बढी रकम तत्कालै भुक्तानी गर्न सकिन्छ ।