पार्टी जीवनमा महाधिवेशनको ज्यादै ठूलो महìव रहन्छ । कुनै पनि राजनीतिक दलले आफ्नो ऐतिहासिक कार्यभारको समीक्षा, आत्मालोचना, वर्तमान जीवनको सजीव चित्र र भविष्यको जीवनको सुस्पष्ट चित्र कोर्ने साधनका रूपमा महाधिवेशनलाई अख्तियारी गरिएको हुन्छ । महाधिवेशन पार्टीको विद्यमान विचार, विमर्श तथा नीतिको गहन छलफल गर्ने थलो हो । जनताको राष्ट्रिय जीवनमा परेका सकारात्मक, नकारात्मक भावको समीक्षा गर्ने थलो पनि हो– महाधिवेशन । यही थलोबाट पार्टी जीवनलाई पुनर्ताजगी गरी जनउपयोगी र सान्दर्भिक बनाउने विचारको अनुमोदन र सोहीअनुरूपले नेतृत्व चयन गरिने परिपाटीको विकासका लागि महाधिवेशन महìवपूर्ण थलो हो । प्रजातान्त्रिक राज्य व्यवस्थामा मूल नीतिहरू प्रायः स्थिर प्रकृतिका रहने शास्त्रीय दृष्टिकोणवादीहरूले महाधिवेशनमा केवल नेतृत्व चयनलाई मात्र प्राथमिकता दिने गर्छन् । किनकि यस्तो विचारको पक्षपोषण गर्नेहरूले धेरथोर सैद्धान्तिक विचारका उपयोगी पक्षमा खासै ध्यान पु¥याउन र समयसापेक्ष यसको उपादेयतामाथि गम्भीर छलफल चलाउन आवश्यक नै ठान्दैनन् । त्यसैले यिनीहरूको विचारमा जनताबाट गरिने अपेक्षामा पार्टी खरो उत्रन नसक्दा देखा पर्ने जनमतको नोक्सानीलाई विश्लेषण गर्ने आधारको चयन नै गलत भई ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुन जान्छ । पार्टी दृष्टिकोणमा समय सन्दर्भले ल्याएको परिवर्तन र उक्त परिवर्तनमा जनताको भूमिका एवं पार्टीको अवस्थितिलाई परिभाषित गर्न सक्नुपर्छ । यसो गर्दा मात्र पार्टीले समय सन्दर्भ र आवश्यकताअनुसार आफूलाई ढाल्दै जनताको उपभोग्यताको आवश्यकतालाई समेत सम्बोधन गरी आफ्नो सार्थकता पुष्टि गर्न सक्छ । यी सबै कुराको विशेष छलफल, विचार, विमर्श गर्ने सबैभन्दा उपयुक्त र सान्दर्भिक थलो भनेको पार्टीको महाधिवेशन नै हो ।