मेलम्चीकाे पानी आधाभन्दा बढी ठाउँमा पुरानै पाइपमार्फत वितरण गरिने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी आधाभन्दा बढी ठाउँमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किलोमिटर लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । गएको असारमा बाढीका कारण मेलम्चीको पानी बन्द भएपछि पनि विभिन्न ठाउँमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल,...

सम्बन्धित सामग्री

सौर्य ऊर्जामा उपेक्षा

नेपालको वातावरणीय अवस्थाले सौर्य ऊर्जामा उच्च सम्भावना देखिए पनि सरकारी उपेक्षाका कारण यसबाट विद्युत् उत्पादन ठूलो परिमाणमा हुन सकेको छैन भने आयोजनाको अनुमति पाएर पनि प्राधिकरणले चासो नदिँदा लगानीकर्ता यसमा उत्साहित हुन सकेका छैनन् । लोडशेडिङ हुँदा प्राथमिकतामा परेको सौर्य ऊर्जा अहिले विद्युत् आपूर्ति पर्याप्त हुन थालेपछि सरकारी उपेक्षाको शिकार बनेको छ । तर, नेपालले सौर्य ऊर्जालाई उपेक्षा गर्न मिल्दैन । नेपालमा वार्षिक ३ सय दिन सूर्यको किरण प्राप्त हुने भएकाले वर्षेनि ५० हजार ट्रेटा आवर सौर्य ऊर्जा उत्पादनको सम्भावना रहेको बताइन्छ । तर, यसको प्रयोग नाममात्रको छ । विश्वमा सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन र खपत गर्ने मुलुक चीन हो । भारतमा सौर्य ऊर्जाको प्रयोगमा विश्वमै चौथो मुलुकमा पर्छ । यसरी सौर्य ऊर्जाको प्रयोग हुनुको कारण प्रविधिको विकाससँगै सस्तोमा बिजुली उत्पादन हुन सक्नु हो । यो जलविद्युत्भन्दा पनि सस्तो पर्छ र नवीकरणीय ऊर्जा हो । नेपालले ऊर्जा सम्मिश्रणको नीति लिएको छ जसअनुसार नदी प्रवाही आयोजना, जलाशययुक्त आयोजना र अर्धजलाशययुक्त आयोजनाहरूबाट बिजुली उत्पादन गरिनेछ । त्यसमा सौर्य ऊर्जाको हिस्सा १० प्रतिशत पुर्‍याइने उल्लेख छ । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भए पनि सौर्य ऊर्जाको अलगै महत्त्व छ । पहिलो त भूकम्प, बाढीलगायत प्राकृतिक समस्यामा सौर्य ऊर्जा बढी लाभदायी हुन्छ । त्यस्तै कथंकदाचित् जलविद्युत्का आयोजनामा समस्या आयो भने सौर्य ऊर्जालाई प्रयोग गर्न सकिन्छ । त्यही भएर नेपालले सौर्य ऊर्जालाई पनि महत्त्व दिएको हो । नेपालमा कुल ६२३ मेगावाट क्षमताको २६ वटा सौर्य ऊर्जा आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन् । कुल ११७ मेगावाट क्षमताको १९ वटा परियोजनाले उत्पादन अनुमतिपत्र पाएका छन् भने कुल ९०७.९ मेगावाट क्षमताको ३५ भन्दा बढी परियोजनाले सर्वेक्षणका लागि अनुमतिपत्र पाउन निवेदन दर्ता गरेका छन् । तर, अहिले सरकार आफैले सौर्य ऊर्जामा चासो दिएको पाइँदैन । त्यसैले सौर्य ऊर्जामा नयाँ पीपीए हुन सकेको छैन । हालसम्म नेपालमा ४० मेगावाट सौर्य ऊर्जा मात्र उत्पादन हुनुले सरकारले यसलाई उपेक्षा गरेको पुष्टि हुन्छ । प्राधिकरणले अब सौर्य ऊर्जाका लागि पनि विद्युत् खरीद सम्झौता गर्नुपर्छ । सौर्य ऊर्जाको लागत घट्दै गएकाले प्राधिकरणले सौर्य ऊर्जाको खरीद मूल्य पनि घटाएको छ । कुनै बेला प्रतिमेगावाट ९ रुपैयाँभन्दा बढी मूल्य दिएको प्राधिकरणले अहिले ५ रुपैयाँभन्दा केही बढी मात्रै मूल्य दिएको छ । त्यसमा पनि अनुमति र पीपीए दिन अहिले बेवास्ता गरिरहेको छ । तसर्थ, परियोजना विकासमा पर्याप्त रूपमा अगाडि बढेका, प्रसारण लाइन जडान सम्झौतामा हस्ताक्षर गरेका र पीपीएका लागि ६ महिनाभन्दा बढी समय पर्खिरहेका सौर्य ऊर्जा आयोजनाहरूलाई अघि बढाउन ढिला गर्नु हुँदैन । सौर्य ऊर्जाको खरीद मूल्य पटक पटक घटाइएको छ । त्यही घटाइएको मूल्यमा पनि खरीद सम्झौता भइरहेको छैन । दर्जनौं आयोजनाहरू अनुमति र पीपीएका लागि कुरेर बसेका छन् । तिनलाई अनुमति पत्र दिने र पीपीए गर्ने काम तत्काल अघि बढाउन आवश्यक छ ।  नेपालमा विद्युत् अपुग भएका बेला भारतबाट आयात हुने गरेको छ । त्यसका आधाभन्दा कम मूल्यमा सौर्य ऊर्जा खरीदका लागि पीपीए भएको छ । त्यसैले सौर्य ऊर्जा नेपालका लागि आवश्यक छ भन्ने देखिन्छ । मुलुकले आवश्यक परेर नै सौर्य ऊर्जासम्बन्धी नीति ल्याएको हो । जलविद्युत्मा समस्या आउँदा विकल्पमा बलियो प्रणाली बनाउन आवश्यक भएकाले नै सौर्य ऊर्जा पनि प्राथमिकतामा परेको हो । यो ऊर्जा सस्तो पनि छ । नेपालका खाली ठाउँमा सौर्य ऊर्जाका प्लान्ट राख्न सकिन्छ । पहाडी भूभाग, मौसम परिवर्तनको चपेटामा परेको मुलुक, लम्बेतान वितरण लाइन भएको नेपालमा सौर्य ऊर्जा वैकल्पिक मात्र होइन आधारभूत ऊर्जा हो । यो अन्य निजी क्षेत्रले उत्पादन गर्ने जलविद्युत् जस्तो पनि होइन । घाम लागेको बेला पिकिङको पानी जम्मा गरेर राति बिजुली उत्पादन गर्न सकिन्छ । त्यसैले सरकार आफैले कुल विद्युत्मा सौर्यको हिस्सा १० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो । तर, लक्ष्यअनुसार सरकारले काम गरेको छैन । पीपीए नै रोकेर सौर्य ऊर्जाको विकासमा अवरोध पुर्‍याएको छ जुन गलत छ । सौर्य ऊर्जालाई केन्द्रीय प्रसारण लाइनमा जडानसमेत गरिएको छ । निजी क्षेत्रले उत्पादन गर्ने सौर्य ऊर्जा पनि प्रसारणलाइनमा जोडेर नै वितरण गर्ने हो । त्यसैले सौर्य ऊर्जालाई उपेक्षा गर्नु हुँदैन, जलविद्युत्को विकल्पका लागि पनि यसको विकास हुन जरुरी देखिन्छ । यसले निरन्तर गुणस्तरीय विद्युत् आपूर्तिको वातावरण तयार हुन्छ ।

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण हुने

वैशाख ९, काठमाडौ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।  गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ ।’ वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ ।  नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगंगा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँटलगायतका स्थान छन् ।  असारदेखियता यी ठाउँमा ट्यांकरको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । उनले भने, ‘पानी काठमाडौं नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौँ ।’ विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परीक्षणका लागि छुट्याइने भएको छ । हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताए । दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उनले भने, ‘केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौँ ।’ बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जानकारी दिएको छ । यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँमार्फत वितरण हुनेछ ।  निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्यांकी निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्यांकी सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताए ।  मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा पु¥याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो ।  निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्यांकीमा पुग्छ । ती ट्यांकीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ ।  काठमाडौं उपत्यकामा खानेपानीको समस्या दशकौँ पहिले शुरु भएको थियो । क्रमिकरुपमा जनसंख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्यांकरमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो । निर्देशनालयले निर्माण गरेका ट्यांकी काठमाडौंमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् ।  समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जानकारी दिएको छ ।  यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन ।  सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौं उपत्यकामा पानी ल्याइएको थियो । फागुनबाट पानी ल्याउन शुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।  अहिले पुनः पानी काठमाडौं ल्याउन पथान्तरण गरिएको छ । आइतवारसम्म सुन्दरीजल पानी आइपुग्ने अपेक्षा गरिएको छ । नियमितरुपमा पानी उपलब्ध हुँदा यहाँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । रासस