नेपाल बैंकको वार्षिकोत्सव मंगलबार : डिजिटल प्रविधि पछ्याउँदै नेपालको पहिलो बैंक

काठमाडौं (अस) । नेपालको पहिलो बैंक नेपाल बैंकले मंगलबार वार्षिकोत्सव मनाउँदै छ । बैंक ८४ औं वर्ष पूरा गरी ८५ औं वर्ष प्रवेश गरेको छ । १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले नेपालमा बैंकिङ अभ्यासको सुरुआत गरेको मानिन्छ । बैंकले २ दशकभन्दा बढि समयसम्म लाभांश वितरण गर्न सकेको थिएन । तर, आव ०७६/७७ देखि लाभांश बिवतरण गर्न थालिसकेको छ । सोही कारण बैंकको शेयरमा पुँजी बजारका लगानीकर्ताको आकर्षण बढ्दो छ । तत्कालीन समय नेपाल  बैंक कानुन, १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका थिए । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा यो बैंक स्थापना गरिएको थियो । पहिला यो बैंकमा सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत शेयर स्वामित्व थियो । अहिले त्यो परिवर्तन भएर सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६४ करोड पुगेको छ । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुआत मात्रै नभई स्वदेशी मुद्रा प्रचलमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै दिइने गरेको छ । नेपालमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को स्थापना भएको २०१३ सालमा मात्र हो । त्यसभन्दा पहिला नेपाल बैंकले नै केन्द्रीय बैंकको काम गरेको थियो । बैंकले उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवं प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको पाइन्छ । नेपाल बंैकले हाल हिमाल, पहाड, तराईमा शाखा विस्तार गरी कारोबार गरिरहेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भूगोलपार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढीपीडित राहत कार्यक्रम  सञ्चालन गरिरहेको छ । यसैगरी ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकालाई सहयोग तथा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सहयोग, कोभिड–१९ महामारीमा सरकार र विभिन्न संघ– संस्थालाई आर्थिक सहयोग उपलब्ध  गराएको छ । हाल बैंकमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २४०० कर्मचारी कार्यरत छन् । सुरु चरणमा बैंकले लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिनेजस्ता कार्यप्रणाली प्रयोग गरिरहेको थियो । तर, पछिल्लो समय अत्याधुनिक डिजिटल बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । बैंकले हाल २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।