मसानघाटको प्राइभेटाइजेशन

सरकारले निजीक्षेत्रलाई उचालेपछि एकताका देशमा हरेक कुरा खोल्ने लहर चलेको थियो । त्यही भएर निजी बैंक खुले, सेक्युरिटी गार्ड कम्पनी आए, उद्योग खुले, विद्यालय, विश्वविद्यालय खुले । विकासले उँभोगति लिनुपर्नेमा अधोगति लिएपछि अहिले गाभिने, बन्द गर्ने कहर चलेको छ । उँधै गति उँधै मति भएका र चारतिर टाउको फर्काउने राजनीतिक दलहरू सत्ता भोग गर्न सजिलो होस् भनेर होला एकताको मोर्चा कसेका छन् । पाल्नभन्दा फाल्न सजिलो हुन्छ भनेर अर्थमन्त्रीले बजेटमै कतिपय संस्थान, विभागहरू बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फकाएर, नभएर तर्साएरै एकआपसमा गाभिनू भन्यो, गाभिए, गाभिँदै छन् ।  शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ ।  सपना भएका युवा जति लखेटेपछि शैक्षिक संस्थाहरू आफै बन्द हुँदै छन् । जहाँ विद्यार्थी धेरै छन्, त्यहाँ विद्यार्थीले नै कहिले ताला लगाउने त कहिले शिक्षक वा प्राध्यापक कुट्ने अभियान चलाएका छन् । त्यसैले पहाडका गाउँ बस्तीमा मात्र होइन, तराईका विश्वविद्यालयहरू पनि सुनसान हुन पुगेका छन् । यसलाई मसानघाट भन्दा पनि फरक नपर्ने भएका छन् । पढ्न र काम गर्न चाहनेहरू विदेश भासिएका छन् । दुवै गर्न नचाहनेहरू राजनीतितिर । त्यसैले अब उद्योग सुद्योगमा लगानी गर्नुभन्दा मसानघाट खोल्नु बढी उपयोगी हुने देखिन्छ ।  शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ । किसानले खेती गरेकैले मर्नुपरिरहेको छ । नेपाली युवा विदेशमा गएर मर्नुपरिरहेको छ । उद्यमीहरू सडकमा वा घरमा आत्महत्या गर्नुपर्ने बाध्यतामा छटपटिनु परेको छ । सडक पेटीमा सानातिना व्यवसाय गरेर गुजारा गर्नेहरू र सर्वसाधारणलाई त सजिलोसँग मर्ने ठाउँ पनि दिएको छैन स्थानीय र संघीय सरकारहरूले । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।   आलीदेखि थालीसम्म विष । सडकमा निस्क्यो, विष भरिएको हावा । यसो टिभी हेर्‍यो, सामाजिक सञ्जाल चहार्‍यो विष भरिएको विचार । अहिले जसरी कतिपय पार्टी प्यालेस र रेष्टुराँहरुले जस्ता किसिमका विषसरह खाना ख्वाइरहेका छन्, कतिपय सुविधासम्पन्न अस्पतालले बिरामीसँग जसरी असुली गरिरहेका छन्, के ती कुनै मसानघाटभन्दा कम छन् र ?  त्यसैले अब देशमा उद्योग–सुद्योग, शिक्षालय, औषधालय आदि भन्दा मसानघाटको काम बढी छ । आगोमा जल्ने कि व्यापार व्यवसायको चिन्तामा जलेर खरानी हुने दुई विकल्प मात्रै दिएको छ सरकारले । नेताहरूको कृपाले देशभरि ठडिएका भ्यू–टावरहरूबाट को, कहाँ, कसरी जलिरहेका छन् हेर्न पनि सजिलो भएको छ । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।   सरकारले गर्ने काम वा चलाउने प्रायः सबै संस्थानहरू घाटामा चल्ने गरेका छन् । त्यसैले मसान केन्द्रहरू चाहिँ निजीक्षेत्रलाई खोल्न प्रोत्साहित गर्नुपर्छ । अर्थात् अब मसानघाटको पनि प्राइभेटाइजेशन गर्नुपर्छ । त्यसपछि मान्छेलाई मर्न कसरी प्रेरित गर्नुपर्छ, उसले गरिहाल्छ । त्यसपछि त मसान केन्द्रको प्रचारमा शहर शहरमा ई–बोर्डहरू लाग्नेछन् । धेरै मानिसहरू हिँड्ने वा गुड्ने शहरका मुख्य गौंडाहरूमा ठूलठूला तुलहरू टाँगिनेछन् । ‘मर्नका लागि सबैभन्दा उत्कृष्ट स्थल । पवित्र मसान केन्द्र । शहरका बीच्चबीच्चमा, प्राइम लोकेसनमा अनलाइन बुकिङको पनि सुविधा । गर्मीको मौसममा बुकिङ गर्दा दोस्रो मुर्दा सित्तैमा । कुनै अतिरिक्त शुल्क लाग्दैन । आधा खर्चमा पूरै परिवारका लागि स्किम । स्वीमिङ पुल, पानीका रंगीन फोहरा, शपिङ मल, सिनेमा हल, रेष्टुराँ, पार्किङ लगायतका सुविधा भएको एकमात्र मसान केन्द्र’ आदि, आदि । मुर्दालाई अस्पतालबाट घाटमा पुर्‍याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् । त्यसो त देशमा केही वर्षयता मसानघाटहरूले आफ्नो गति समातेका छन् । तर ती घाटहरू सरकारी भएकाले पारा पनि सरकारी अर्थात् त्यहाँ ढिलासुस्ती हुने नै भयो । तर हिजोआजका मुर्दा तुरुन्त जल्न चाहन्छन् । जल्नु पनि एउटा फेशन बनिसकेको छ । अब मुर्दा जल्ने कार्य एउटा गज्जपको इभेन्ट बनेको छ । जसरी विवाहको व्यवस्थापन गर्न हिजोआज ‘वेडिङ इभेन्ट म्यानेजमेन्ट कम्पनी’हरू खुलेका छन्, त्यसैगरी मुर्दालाई अस्पतालबाट घाटमा पुर्‍याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् अर्थात् ओशोले भनेजस्तै ‘मृत्यु अब एउटा उत्सव’ अर्थात् सेलिब्रेसन इभेन्ट बनिसकेको छ । वास्तवमा मुर्दा जलाउने उत्सव पर्यटकका लागि पनि एक आकर्षक मनोरञ्जन बन्न सक्छ, यसलाई ‘कालो पर्यटन’ भन्छन् क्यार । जसरी जनताहरू भोक, अभाव र गरीबीले तड्पी तड्पी मरिरहेको देखेर नेताहरू आनन्दविभोर भइरहेका छन्, त्यसैगरी पर्यटकहरू पनि दुई तीनघण्टे मुर्दा जलन कार्यक्रममा सहभागी भएर रोमाञ्चित बन्न सक्छन् । पशुपति आर्यघाटमा भीआईपीलाई जलाउने ठाउँमा आफ्ना मान्छे जलाउन निकै सोर्सफोर्स लगाउनुपर्ने हुन्छ । निजी मसानघाट हुनेबित्तिकै जसले बढी दाम दिन सक्छ, उही भीआईपी बन्न सक्छ । पहिले धनीहरू मात्र महँगोमा जल्न मन पराउँथे । अब त मध्यम वर्गमा पनि बढी शुल्क तिरेर जल्ने फेशन चलेको छ । निजी मसानघाट भयो भने यता मधुर संगीत बजिरहेको हुन्छ, उता संगीतको लयसँगै पानीको फोहरा तलमाथि गरिरहेको हुन्छ । अनि विनाकुनै माथापिच्छी मुर्दा आफै चुपचाप जलिरहन्छ । यसका लागि कुनै पनि दाउरालाई तलमाथि गरिरहनै पर्दैन । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ ।  यस्ता मसान एवं शपिङ केन्द्रहरूमा बालबालिकाका लागि पनि ‘किड्स प्ले कर्नर’ बनाउन सकिन्छ । यसमा केटाकेटीहरू आरामसँग उफ्रिने–पाफ्रिने गर्न सक्छन् । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ । छेउमा ठूलो स्वीमिङ पुल बनाउन सकिन्छ । पाँचतारे सुविधायुक्त एयरकन्डिसन घाटमा अनलाइन बुकिङ गरेर अनलाइन दाहसंस्कार उत्सवको पनि व्यवस्था हुन सक्छ ।  यो व्यवस्थाअनुसार आफ्नो कुनै पनि प्रियजनको मृत्यु भएपश्चात् आफ्नो घर बसी बसी अनलाइन मन्त्रोच्चारण, फुकफाक कार्यक्रम गर्न सकिन्छ । यो सबै गर्न यताउता कुद्नु जरुरी छैन । दाउरा मिलाउनेदेखि कपाल क्रियासम्म सबै डिजिटल व्यवस्था हुन सक्छ । पण्डित, पुजारी, मिठाईवाला, ब्यान्डबाजा आदिका साथ ग्रहदशा शान्तिसम्मको कार्यक्रम आयोजना गर्ने पनि प्याकेजमै अफर गर्न सकिन्छ । अहिलेको यस्तो प्रदूषित र महँगीको माहोलमा प्रियजनको अन्तिम संस्कारका साथ सीधै स्वर्गको टिकट कटाउन सकिने यस्ता प्राइभेट मसानघाटहरूमा मर्न जान कसलाई मन नलाग्ला र ?